पाँच लाख ५१ हजार घर निर्माण शुरु

काठमाडौं ।  भूकम्पले क्षति भई पुनःनिर्माण भइरहेका घरको सङ्ख्या पाँच लाख ५१ हजार पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।भूकम्पले क्षति पुगेकामध्ये ३६ प्रतिशत घर सम्पन्न भइसकेको छ । हालसम्म पहिचान भएका लाभग्राही आठ लाख १० हजार ६९० छन् । पहिचान भएका लाभग्राहीमध्ये ९० प्रतिशतले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने पीडित ६२ प्रतिशत पुगेका छन् ।  ३२ प्रतिशत लाभग्राहीले हालसम्म तेस्रो किस्ता बुझेका छन् ।

सात हजार ५०० विद्यालय पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार ७८५ बनिसकेका छन् । दुई हजार ७०० विद्यालय निर्माणका क्रममा छन् । एक हजार २०० स्वास्थ्य संस्थामध्ये ६५० को निर्माण पूरा भएको छ । एक सय ५० स्वास्थ्य संस्था निर्माणाधीन छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ७५३ सम्पदामध्ये १८५ को निर्माण सकिएको छ । तीन सय १० सम्पदा निर्माणका क्रममा छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पु-याएका संरचना पुनःनिर्माण गर्न आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्ने बताए ।

पञ्चवर्षीय योजनालाई नौ खर्ब ३८ अर्ब

प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको आठौं बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सरकार र दातृ निकायसँगको सहकार्य र छलफलमा पुनःनिर्माणका लागि देखिएको आर्थिक अभावलाई पूरा गर्न लागिपर्ने बताए ।