के नेकपाले अख्तियारका आयुक्त पाठकमाथि महाभियोगको लगाउँला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरूद्ध महाभियोगको तयारी थालेको छ । पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियोसहित समाचार बुधबार बेलुकी नेपाल खबर डटकमले प्रकाशित गरेपछि उनीविरुद्ध नेकपाले महाअभियोग लगाउने तयारी गरेको हो ।

स्रोतका अनुसार नेकपाले यस विषयमा अहिले छलफल अगाडि बढाएको छ। स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएको थियो ।

नेकपाका एक नेताका अनुसार पाठकलाई राजीनामा दिन आग्रह गरिएको छ । उनले नमाने महाअभियोग लगाइने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । पाठकले राजीनामा नदिए शुक्रबार महाभियोग दर्ता हुन सक्छ ।