चर्चामा हावादारी योजना, ओझेलमा प्रतिभा

अक्षर टिप्पणी

O आलोक अविनाशी

मुलुकमा हरेक दिन हत्या, हिंसा, अपराध र अराजकता मात्रै बढेको छैन । कतिपय यस्ता घटना वा आविस्कार पनि भएका छन्, जो हामीले कल्पना गरेका हुँदैनौ । तर मानिसको ध्यान गलत अर्थात अपराधिक घटनातिर केन्द्रित हुनु मानवीय मनोविज्ञान हो । यौन र अपराध यस्ता विषय हुन्, जुन विषय मानिसले नचाहेर पनि चासो राख्छ ।

सतही र हावादारी कुरामा बहकिने नेपाली समाजको मनोविज्ञानलाई राम्ररी बुझेका वर्तमान प्रधानमन्त्री केपी ओली पनि अहिले नै ‘असम्भव’ अर्थात हावादारी योजना सुनाएर नागरिकलाई ‘भाङको लड्डु’ पस्किन उहिलेदेखि नै उद्यत छन् । त्यसैको उपज उनले हावाबाट बिजुली, पाइपबाट ग्यासदेखि पानीजहाजसम्मको सपना बाँडे । कार्यालयकै उद्घाटन गरे । सामाजिक सुरक्षा कार्यक्रमका नाममा पोलपोलमा आफ्नै तस्बिर झुण्ड्याएका ओलीले पछिल्लो समय आएर बेरोजगारलाई भत्ताको हौवा पिटेर अर्को सस्तो लोकप्रियताको पछि दगुर्ने र गदुराउने काम गरेका छन् ।

बिडम्बना नेपालमा जन्मिने अनेक प्रतिभाको पहिचान र सदुपयोगमा भने हामी कहिल्यै नलागेको कुरा सत्य हो । यतिबेला काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले तीनचक्के सवारी साधनको आविस्कार गरेको कुरा चर्चामा छ ।

यस्तो मोडेलको सवारी साधन नेपालकै नमुना भएको युवा वैज्ञानिकहरुको दावी छ । जसलाई उनीहरु आउँदो अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा हुने विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियरको सेल ईको म्याराथन एसियामा प्रर्दशन गर्ने तयारीमा छन् । नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । उनीहरु नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापाको दावी छ । यो विश्वकै उत्कृष्ट मेकानिकलाई स चुनौती भएको उनीहरुको ठहर पनि हो । विद्यार्थीले तयार पारेको यो सवारी साधन वतावरणमैत्री रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा. डेनियर तुलाधरको दाबी छ । यो मात्रै नेपालको आविश्कार र वैज्ञानिक प्रगती होइन ।

नेपालमा वैज्ञानिक आविश्कार गर्ने सिर्जनशिल व्यक्तिको जन्म विक्रम संवत १९२८ मै भइसकेको पाइन्छ । गेहेन्द्र शमशेर जबराको जन्मसँगै वैज्ञानिक चेतनाका मानिसहरु नेपालमा जन्मने क्रम सुरु भएको हो । बीर शमशेरका जेठा छोराका रुपमा जन्मिएका गेहेन्द्रले त्यतिबेलै जमल, सुन्दरीजल, बालाजु र भोजपुरको मेघचनमा पहिलोपटक लघु जलविधुत, पानीघट्टबाट चल्ने धान कुट्ने मिल, हावाबाट चल्ने पानी तान्ने मोटरजस्ता आविश्कार गरेर नेपाली समाजलाई छक्क पारे ।

१९६५ मै फोर्ड कम्पनीको कार ब्रिटेनबाट झिकाएर त्यसको पार्टपुर्जा खोलेर पुनः जस्ताको त्यस्तै मात्र बनाएनन्, आफ्नै विवेकले अर्को मौलिक कार निर्माण गरेको कुरा इतिहासमा पाइन्छ । जुन कार उनले तत्कालीन राजा पृथ्वी बीरविक्रम शाहलाई उपहार दिएका थिए । तत्कालीन अवस्थामा नेपाली सेनाले एक नाले राइफल मात्रै चलाउँथ्यो उनी सेनाका कर्णेल बनेपछि उनले आफै दुई नाले राइफल आविष्कार गरेर गे–राइफलको नाम दिए । दुई नाले बन्दुक बनाएर पिताको नामबाट बिर बन्दुक नाम राखे । यस्ता प्र्रतिभा र वैज्ञानिक जन्मने क्रम बढ्दै गए पनि तीं यो मुलुकको गहना बन्न भने सकेका छैनन् । उनीहरु विदेश भासिनुपर्ने नियति निरन्तर छ ।

तर शासकहरु भने जनतालाई हावादारी योजना पस्किएर स्वैरकल्पनामा ढुबाउन भने उद्धत देखिन्छन् । जसको परिणाम नेपालमा जन्मिएका प्रतिभा आज अमेरिका, बेलायत भासिन बाध्य छन् । यस्ता प्रतिभाको पहिचान गरि राज्यले उपयोग गर्ने हो भने हुँदै नभएको पानीजहाज कार्यालय खोजेर जगहँसाइ गर्नुपर्ने दिन रहने छैनन् । उनीहरुको शीप, ज्ञान र आविश्कारको सम्मान गर्न सके नेपाल धेरै समय परजीवी बन्ने अवस्थाबाट मुक्त हुनेछ । र ओलीजस्ता प्रधानमन्त्रीका ‘हावादारी’ भनिएका योजना साकार पनि हुनसक्नेछन् ।