न्याय माग्नेलाई आवेग नदेऊ !

सम्पादकीय

कञ्चनपुरकी निर्मल बालिका नीर्मला पन्तमाथि आततायी अन्याय भयो । १३ वर्षको उम्दो उमेरमा उनीसँग कति सपना थिए होला । कति रहरसँगै टुसाएका सम्भवतः संसार सिगार्ने योजना थिए होला । विडम्बना तीं सबै रहर, सपना, योजना र सम्भावनाहरुलाई कतै निर्मम कुनामा क्रुरतापूर्वक निमोठियो र ऊखुबारीमा फालियो ।

देशको हरेक भागमा हरेक दिन यस्ता बलात्कार र हत्या दिनमा दुई तीन हुने गरेका छन् । तर सुदूर कुनामा भएको यो घटनाले देशलाई नै हल्लाइदियो । सिंगो मुलुकका लागि यो लज्जाको प्रतिविम्ब बनेर उभिएको छ । एक छोरी, एक चेली, एक नादान बालिका यसरी बलात्कृतमात्रै होइन कोपिलामै निमोठिएर फ्याँकिनुपर्दा जसरी राज्य दुई महिनादेखि जवाफहीन उभिएको छ, यो दृश्य झन दयालाग्दो बनेको छ ।

आम नागरिकको ज्यान, धनको सुरक्षाका लागि आम नागरिककै तिरोबाट पालित पोषित प्रहरीमाथि नै आक्षेपका छिटा उछिट्टिँदा पनि ५५ भन्दा बढी दिनसम्म ठोस प्रमाण पेश गर्न नसक्नु न्यायमाथि विश्वास गर्नेहरुलाई उद्देग बनाएको छ । ‘यो देशमा पनि सरकार र सुरक्षाकर्मी छ र ?’ भन्ने प्रश्न आम नागरिकमा उब्जाएको छ । सुन तस्करी वा भ्रष्टाचारीलाई उम्काएजस्तो निर्मला हत्याकाण्ड होइन र हुनु हुँदैन । किनकि यो एक चेलीमाथि, एक सुन्दर भविश्यमाथि, भोलीकी एक आमामाथि आर्थात सिंगो जननीमाथिको अत्याचार हो । यो नीर्मलाले मात्रै भोगेको र उनका परिवारले मात्रै बेहोरेको पीडा होइन, यो देशकै पीडा हो र लज्जाको विषय बनेको छ । यसमा राज्यले राज्य हुनुको, सरकारले सरकार हुनुको अनुभूति गराउन सक्नुपर्छ ।

आज आफ्नो सुरक्षाका निम्ति स्कुल स्कुलमा छात्राहरु सुरक्षाको तालिम लिन थालेका छन् । कसरी जोगिने भन्ने उपाए खोज्न थालेका छन् । यो कति विडम्बना ! के यो देशमा सरकार छैन ? के यो देशमा सुरक्षा मरेको हो ? के यो देशमा सुरक्षा निकाय अस्तित्वहीन भएको हो ? जहाँ जनता आफैले अझ छोरीचेलीले आफ्नो सुरक्षाको व्यवस्था स्वयम्ले गर्नुपर्ने भो । भोली यो अवस्थाले जनता आफैले अन्याय गर्नेलाई दन्डित गरे भने, समाजमा अपराधको बदला अपराधबाटै हुन थाल्यो भने त्यसको जिम्मेवार को हुने ?

न्याय माग्ने न्यायप्रेमीको भीडलाई अरिङ्गाल लगाउनुपर्ने आवश्यकता देख्ने आँखाहरुले थप आक्रोस, थप पीडा जन्माएको छ । यो आवेगको आगो भोली फैलियो भने त्यसको जिम्मा सबैको अभिभावक बन्नुपर्ने स्थानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले लिने कि नलिने ? प्रश्न जटिल बन्न सक्छ । सरकार देशको हुन्छ । हुनुपर्छ । कुनै निश्चित सिद्धान्तवादीको जगमा बने पनि राज्यसञ्चालनमा पुगेपछि उसले सिंगो जनताको अभिभावकत्व पुरा गर्नुपर्छ । तर अभिभावकले विभाजनको बीऊ आफै रोप्यो भने के हुन्छ ? घर भाँडिन्छ । विभाजन हुन्छ । त्यो विभाजनको बीऊ नरोपियोस । आक्रोस नफैलाइयोस् । आवेगको आगो नझोसियोस् । नीर्मलाको न्याय बिम्ब हो । तमाम अन्यायहरुमाथि न्याय होस् । हो यस्तै अन्यायमा परेकाहरुको आवज बन्न अक्षरपाटी डटकम उपस्थित भएको छ ।

हामी किन त ?
समय परिवर्तनशील छ । अबको युग सूनचाको हो । पहिले सप्पतीले सम्पन्नता मापन हुन्थ्यो । अब सम्पन्नताको कसी सूचना बन्दै गएको छ । अर्थात यो युगमा जोसँग जति धेरै सूचना छ, ऊ उति धेरै सम्पन्न गनिन्छ । हामी आम नागरिक सम्पन्न होउन् भन्ने चाहन्छौँ । अदली–बदली भइरहने समयले अब इलेक्ट्रोनिक मिडियाको महत्वलाई बढाइदिएको छ ।

अक्षरपाटी त्यसैको उपज हो । दीक्षित मिडिया प्रा.लीद्वारा सञ्चालित अक्षरपाटीमा त्यस्ता अक्षरहरू कोर्ने प्रयत्न हुनेछन्, जुन जनताको दैलोबाट टिपेर राज्यको आँगनसम्म पुर्याइने छ । राज्यका प्रयत्न, प्रयास र सकारात्मक कदमलाई सुन्दर अक्षरमा लेख्ने इमान्दार कोसिस हुनेछ । अनि आम नागरिकका पक्षमा सँधै अमिट अक्षर कोर्ने अक्षरपाटीको प्रयत्न रहनेछ ।

असली पत्रकारिताको आयाम हामी सुरुवात गर्छौँ भन्ने, दम्भ छैन । तर त्यसको कडीका रूपमा हामी खरो प्रस्तुत हुनेछौँ । र, हामी डगमगाउने छैनौँ, सत्यको पक्षमा जिरह गर्न । यो हाम्रो प्रण हो । हामी सालिन र शुसुप्त आएका छौँ, यसलाई चुचुरोमा पुर्याउने अभिभारा पाठक, सुभेच्छुक, विज्ञापनदाता र यहाँहरूकै हो ।