‘उखान टुक्के कुरा, ओलीका गफै मात्र ठुला’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीलाई हुटिट्याउँ गर्दै ओली सरकारको पानी जहाज गफैको मात्र भएको बताएका छन् ।

कांग्रेस भक्तपुरले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै सभापति देउवा ओली सरकारविरुद्ध कडा रुपमा खनिएका हुन् ।

ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम नभएकोले सरकारले पानीजहाज कार्यालय खोल्नु मिथ्या सपना भएको बताए । उनले पानी जहाजमा नभई उखान टुक्कामा भने सबैको मन सरर पार्ने गरेको आरोप लगाए । उनले एक वर्षमा सरकार विकास निर्माण र कूटनीतिक हिसाबले समेत चुकेर असफल सावित भएको आरोप लगाए ।

‘एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटै काम भएन । यसबाट स्पष्ट हुन्छ कि ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन,’ सभामा देउवाले भने, ‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दुःख हुने थिएन ।’

ओली सरकारले महंगी नियन्त्रण गर्न नसक्दा जनताले मार खेप्नु परेको देउवाको आरोप छ । ‘महंगी यति बढेको छ कि सर्वसाधारण जनतालाई बाँच्न गाह्रो भइसक्यो। जथाभावी कर बढाएको छ,’ देउवाले भने ।

भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको देउवाले आरोप लगाए । मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत भएको आरोप देउवाको छ ।

विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर पनि सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको भनाइ छ ।

‘सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए ।