विपद् दुःखद घटना भएपनि प्रतिकार्य एउटा खुला प्रयोगशाला होः रेडक्रसकर्मी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले हरेक विपद् आफैमा दुखद घटना भए पनि त्यसको प्रतिकार्य एउटा खुला प्रयोगशाला हुनेगरेको बताए । रेडक्रसबाट सञ्चालन गरिएको अनुक्रिया फ्लड रेस्पोन्स अप्रेसनको समीक्षा वैठकमा उनले हरेक विपद्बाट देश र सँस्थाले केही न केही सिकिरहेको हुने धारणा राखे ।

सन् २०१७ को अगष्टमा नेपालको मध्य र पूर्वी तराईमा गएको बाढी पश्चात रेडक्रसले फ्लड रेस्पोन्स अप्रेसन सञ्चानल गरेको हो ।

नेपाल रेडक्रस राष्टि«य विपद तथा सँकट समितिका सभापति मनोज थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वाढी प्रतिकार्य कार्यक्रम सञ्चालन भएका जिल्ला शाखाका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्टिय समिति तथा अन्तर्राष्टिय महासँघलगायत साझेदार सोसाइटी र डिएफआर्इडीका प्रतिनिधि तथा रेडक्रसको नेतृत्वलगायत कार्यक्रममा सहभागी थिए ।

बाढीबाट १ सय ४९ जनाको ज्यान गएको थियो । १७ लाख मानिसहरु प्रभावित भएका र ६४ हजार ९ सय घर भत्केका थिए । विपद् व्यवस्थापन विभागका उपनिर्देशक रुद्र अधिकारीले पहिलो चरणमा प्रभावित ३१ वटै जिल्लामा तत्काल उद्धार राहतमा रेडक्रसले सहयोग गरेको जानकारी गराए ।

बैठकमा उनले भने, ‘१३ हजार ५ सय १९ परिवारलाई गैरखाद्य सामग्री सेट वितरण गरिएको थियो । त्यतिकै सँख्यामा सरसफाई सामग्री, ७ हजार ८४ परिवारलाई आपत्कालीन आवास, ८ हजार ६ सय परिवारलाई खाद्यान्न र ३३ सय परिवारलाई झुल वितरण गरिएको थियो ।’

दोस्रो चरणको सहयोग अन्तरर्गत सुनसरी, सप्तरी, सिरहा, उदयपुर, महोत्तरी, रौतहट, बर्दिया र झापामा २ वर्षे सहयोग कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रम प्रभावकारी रहेको सूचकहरुले देखाएको आर्इएफआरसीका नेपाल कार्यालय प्रमुख जुजा किमले बताए ।

वाढी प्रतिकार्य कार्यक्रम अन्तरर्गत १६४० परिवारलाई जीविकोपार्जनको लागि नगद सहयोग गरिएको, ५० परिवारलाई घरको लागि जस्तापाता सहयोग गरिएको, सुरक्षित घर बनाउन ५ हजार परिवारलाई तालिम दिइएको रेडक्रसले जनाएको छ ।

समुदायमा आधारित स्वास्थ्य सहयोग ४२ हजार ९ सय ७८ जनालाई गरिएको र ११ हजार ७ सय ६८ परिवारलाई झुल वितरण लगायतको सहयोग गरिएको थियो । १२ सय ५६ परिवारको घरमा चर्पी निर्माण र ५५ वटा सुधारिएको ट्यूववेल जडान गरिएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

नेरेसोका महामन्त्रि देवरत्न धाख्वाले पहाडी र हिमाली जिल्लाहरुमा गएको भूकम्प र तराईमा गएको बाढीको समयमा काम गर्दा सँस्थाले धेरै अनुभव हासिल गरेको बताए ।

कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसले भूकम्प प्रतिकार्यबाट सिकेको अनुभवबाट सिकेर तत्काल बाढी प्रभावित क्षेत्रमा गई स्थानीय परिवेशमा समयमै सहयोग गर्न सफल भएको बताए ।