मेगाका ग्राहकलाई ब्लुक्रसमा छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले काठमाडौंको एक अस्पतालमा केही छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकले थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेगा बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका ग्राहकले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने सम्झौता छ । यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्नु परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।