निमेशभरमै अलप भयो पशुपतिको ‘लुट्न सके लुट कान्छा’

काठमाडौं । तीन दिनमै नेपालको १० नम्बर ट्रेन्डिङमा परेको र करिब साढे तीनलाख जनताले हेरिसकेको लोकगायक पशुपति शर्माको

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट,
अरु देशमा पाइँदैन नेपालमै हो छुट‍’

बोलको गीत शनिबार करिब ९ बजेतिर एकाएक युट्युबबाट गायब भएको छ । दुईतीहाईसहित सत्तासिन सरकारलाई नै हलचन हुने गरि वाइडबढी विमान खरिद, राष्ट्रपतिका लागि हेलिकोप्टरदेखि भ्रष्टाचार, दुराचार र अत्याचारको मर्म ओकलिएको गीत एकाएक हट्नु सरकारकै दबाब भएको बुझिएको छ । केही समयअघि केही संचारमाध्यममा लोकगायक शर्माको गीतले बालुवाटर र सिंहदरबारमा खैलाबैला भन्दै आएको समाचार सेलाउन नपाउँदै गीत युट्युबबाट हटाइएको छ ।
यद्यपि गीतमा केही परिमार्जन गर्न आवश्यक देखिएकाले आफैले हटाएको कुरा गायक शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । उनले स्टाटसमा गीतका केही शब्दलाई लिएर बिरोध सिर्जना गर्न खोजिएको, केही सुभचिन्तकको चित्त दुखेकोलगायत उल्लेख गरे पनि अन्त्यमा ‘म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो’ भन्नुले उनी कुनै वाध्यात्मक परिस्थितिमा परेका छन् भन्ने कुरा बुझ्न उनका सुभचिन्तकलाई त्यति गाह्रो हुनेछैन ।

शर्माको स्टाटस जस्ताको त्यस्तै :

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरूमा सादर नमस्कार !

हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँहरूले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। तर सोही गीतमा प्रयोग भएका केही शब्दहरूलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरूलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिनँ। तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु। मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनीतिक दल या संस्था संग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरूमा मेरा केही शुभचिन्तकहरूको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरूलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरूलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।

सुझाव दिनुहुने राजनीतिक व्यक्तित्वहरू, मेरा अग्रज एवं समकालिन साथीहरूलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको खण्डमा म अन्तरहृदयदेखि माफी चाहन्छु। मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो। यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु। अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।

र, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरूको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु।

धन्यवाद।
पशुपति शर्मा