पशुपतिको गीत हटाउन सरकारको दबाब परेको साँस्कृतिक संघको दावी, सरकारको निरंकुश शैलीप्रति आन्दोलित

काठमाडौं । सत्ता र सत्तासिन दलको दबाबपछि लोक गायक पशुपति शर्माको गीत यूट्युबबाट हटाइएको घटनाप्रति नेपाल साँस्कृतिक संघले आपत्ति जनाएको छ । सरकारले साँस्कृतिक क्षेत्रको स्वतन्त्रता र लगानीमाथि प्रहार गरेको दाबी सँघको छ ।

संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जुनसुकै राष्ट्रको प्रतिष्ठा र गौरव झल्काउने विषय सांस्कृतिक पहिचान हो । नेपाल वहुभाषी, बहुजाति, बहुसांस्कृतिक र बहुधर्म भएको ‘सांस्कृतिक एकता’ बोकेको विश्वमै उदाहरणीय समृद्ध राष्ट्र हो । संस्कृतिको संंरक्षण र सम्बद्र्धनबाट मात्र मुलुकको समृद्धि हुन्छ । तर सांस्कृतिक क्षेत्रको स्वतन्त्रता र लगानीमाथि सरकार र सम्बन्धित निकाय उदासीन हुनु स्वयंमा खेदपूर्ण कार्य हो ।’

संघका सभापति तीर्थबहादुर थापाद्वारा जारी विज्ञप्तिमा मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार जस्ता विसंगति र विकृतिका विरुद्ध सम्पूर्ण नेपाली जनताको जनचाहनाअनुरुप पशुपति शर्माद्वारा गायनबाट सार्वजनकि भएको व्यंग्यात्मक गीतलाई दुई तिहाइको दम्भ बोकेर तथाकथित नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिबन्ध लगाउने कार्य घोर निन्दनीय छ भनिएको छ । सांस्कृतिक क्षेत्रको मानमर्दन र हस्तक्षेपबाट मुलुकको स्वाधीनता र स्वाभिमानमाथि आँच आउने भन्दै संघले सरकारको विरोधाभासपूर्ण शैलीको निन्दा र भत्र्सना गरेको छ ।

भाषा, साहित्य, गीत, संगीत, कलाकौशल भेषभूषा रीतिथिति आदिले मुलुकको हरेक वर्ग र समुदायको प्रतिविम्बत गराउने हुँदा विश्वमा नेपालीले रुचाएका पशुपति शर्माको गीतमाथि गरिएको प्रतिबन्धबाट सकारात्मक सन्देश नजाने पनि संघले उल्लेख गरेको छ । सरकारको तानाशाही शैलीको बिरोध गर्दै नेपाल सांस्कृतिक संघले सांस्कृतिक आन्दोलनको उद्घोष पनि गरेको छ ।