नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्छौंः हिन्दु परिषद्

काठमाडौं । हिन्दु परिषद नेपालले मुलुकलाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फन परिषद्ले यस्तो घोषणा गरेको हो ।

परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैैपनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिए । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्चियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दु राष्ट्र नै कायम गनुपर्ने बताए ।

उनले भने, ‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजाबादीसंग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’

पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्म सम्बन्धी गतिबिधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातका बीचको बिभेद हटाउनुपर्ने उनको धारणा थियो ।

उनले हिन्दुभित्रै जातको बिभेदमा बाँचेकाहरु नै आज आफ्नो धर्म त्यागेर अरु बाह्य धर्म अंगाल्न पुगेको आरोप लगाए । ‘कुनै पनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्नसक्नुपर्छ’, पटेलले थपे ।

नेपालको संविधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाईने भनेर स्पष्ट लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दुबिहीन बनाउन लाग्दा पनिसरकारको त्यतातर्फ आँखा नपरेकोमा आपत्ति जनाए ।

धर्म परिवर्तनको बहानामा संसारमा नेपाल र नेपालीको पहिचान बोकेको हिन्दु धर्ममाथि नै पछिल्लो समय प्रहार भएको उनले गुनासो पोखे । उनले आगामी पाँच बर्षभित्र २५ लाख नेपालीलाई हिन्दु धर्ममा जोड्ने आफूहरुको अभियान रहेकोे पनि जानकारी गराए । सरकारलाई दबाव दिनकै निमित्त मेचि–महाकालीअभियानको शुरुवात गरिसकेको पनि उनले जनाए ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाई काटेर खान गरेको आग्रहलाई उनलाई भोट दिने जनताले नै उनको पुत्ला जलाएर बिरोध गरेको स्मरण गराउँदै उनले भने, ‘जनताले बाबुरामलाई राम्रो सबक सिकाए, त्यहीकारण अहिले नेपालका कम्युनिष्टहरु हिन्दु धर्ममा आस्था राख्ने भएका छन । सम्पुर्ण नेपालीको एउटै भावना र धर्म भनेको हिन्दु नै हो, राजनीतिक दलहरुले एजेन्डा परिवर्तन गरेजस्तै धर्मको नाममा राजनीति नगर्न पनि म आग्रहगर्दछु ।’