‘सामुदायिक विद्यालयलाई ‘पोथीले चल्ला छोपेजस्तो’ संरक्षण चाहिन्छ’

काठमाडौं । शिक्षाविद् केदारभक्त माथेमाले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर कुखुराको ‘पोथीले चल्ला छोपेजस्तो’ गरी संरक्षण दिनुपर्ने बताएका छन् ।

शिक्षा पत्रकार समूहको १९औँ वार्षिकोत्सव कार्यक्रममा त्रिविका पूर्वउपकुलपति माथेमाले सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र विज्ञान, गणित तथा अङ्ग्रेजीजस्ता विषयमा सिकाइ उपलब्धि न्यून हुनुमा राज्यले प्राथमिकता दिन नसकेकाले धारणा राखे । उनले भने, ‘हुन त सरकारको पर्याप्त स्रोत छैन तर शिक्षाको मौलिक हक कार्यान्वयनका लागि सरकारले सामुदायिक विद्यालयलाई पूर्ण संरक्षण दिनुपर्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एउटै ढाँचाको सिकाइबाट नभई विविध प्रयोगका माध्यमबाट शैक्षिक रुपान्तरण सफल हुने बताए । उनले निःशुल्क शिक्षाको कार्यान्वयनका लागि वैकल्पिक स्रोतको खोजी गर्न सरकार लागिपरेको जानकारी दिए ।

उनले सामुदायिक विद्यालयमा दरबन्दी व्यवस्थापन असन्तुलित हुनुमा बिना नक्साङ्कन र योजनाबिना विद्यालय स्वीकृति दिने विगतको अभ्यास बाधक रहेको टिप्पणी गर्दै स्रोतको सुनिश्चितता नभएसम्म विद्यालयको स्तरोन्नतिको सिफारिश नगर्न स्थानीय तहलाई आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले विधागत पत्रकारिता खोजमूलक रिपोर्टिङमा जान सकेमा समाजमा रुपान्तरण हुने जनाए ।

-रासस