मुस्लिम आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परे तीन उजुरी, यस्ता छन् आरोप

काठमाडौं । प्रतावित मुस्लिम आयोगका अध्यक्ष समिस अन्सारी नेकपामा प्रवेश गरेको धेरै भएको छैन । गत स्थानीय चुनावको मुखैमा अन्सारी तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई केपी शर्मा ओलीले तामझमका साथ पार्टीमा भित्र्याएका थिए ।

अहिले प्रधानमन्त्री ओलीकै अध्यक्षतामा रहेको संवैधानिक परिषदले अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको छ । तर, अहिले तिनै सन्सारीमाथि तीन आटा गम्भिर उजुरी परेका छन् ।

संसदीय सुनवाई समितिले ५ संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुबीच उजुरी आह्वान गरेको थियो । चारवटा उजुरी पर्‍यो र सबै अन्सारीविरुद्ध थिए । उनीबिरुद्ध शैक्षिक प्रमाणपत्र नक्कली भएको, पार्टीको केन्द्रीय सदस्यता कायमै रहेको र विवादित नागरिकता रहेको भन्ने उजुरी परेको छ ।

आयोगको अध्यक्षका लागि आवेदन पेश गर्दा अन्सारीले बिहारको मगध विश्वविद्यालयबाट २००४ मा स्नातक गरेको प्रमाणपत्र पेश गरेका छन् । तर, त्यो नक्कली भएको उजुरीकर्ताको दाबी छ ।

उनले एसएलसी र प्रमाणपत्र तह पास गरेको प्रमाणपत्र समेत पेश गरेको छैनन् । स्रोतहरुले अन्सारीले काठमाडौंको मदरसामा अध्ययन गरेको र ९ कक्षामा फेल भएपछि पढाइ छाडेको सूचना सुनुवाई समितिसम्म पु¥याएको छ ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । संवैधानिक आयोगको पदाधिकारीका लागि कुनै पनि दलको सदस्य हुनु हुँदैन ।

नेकपाले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय सदस्यहरुको सूचीमा उनको नाम ३७४ नम्बरमा रहेको उजुरी परेको छ ।

संसदीय सुनुवाई समितिमा अन्सारीको नागरिकतालाई लिएर पनि उजुरी परेको छ । उनले काठमाडौं वडा नम्बर ९ स्थायी ठेगाना भएको नागरिकता पेश गरेका छन् ।

तर, उजुरीकर्ताले भने भारतको विहार राज्यस्थित मोतीहारी प्रहारपुर थाना ग्राममा जन्मिएको र रौतहटबाट अंगीकृत नागरिकता लिनुपर्नेमा वंशजको लिएको दाबी गरेका छन् ।