पशुपतिको गीत युट्युबबाट हटाउनु मण्डले प्रवृतिः तरुणदल

काठमाडौं । नेपाल तरुणदलले पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीत युट्युबबाट हटाउन सरकारले कार्यकर्ता प्रयोग गरेको आरोप लगाएको छ।

तरुणदलका महासचिव भूपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना कार्यकर्ता प्रयोग गरि पशुपति शर्मालाई युट्युबबाट गीत हटाउन दवाव दिएको आरोप लगाएका छन्।

‘सरकारको यो रबैयाले जनताको बोल्न पाउने, आफ्नो विचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको समेत हनन् भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ।’

सरकारको आदेशमा नेकपा कार्यकर्ताले मण्डले प्रवृति देखाएको समेत विज्ञप्तिमा आरोप छ। जनताको मन छुने गीत गाएको भन्दै तरुणदलले शर्माको गीतको कदर पनि गरेको छ।