धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटको प्लेअफमा पुग्ने टीमको टुङगो लागेको छ । आज भएको देलको नतिजाले चार टोलीको टुङगो लगाएको हो ।
अपराजित रहेको काठमाडांै ७ अंकसहित शिर्ष स्थानमा रहँदा सिवाईसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान ६ अंक भएपनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा छ ।
महेन्द्रनगर युनाईटे र विराटनगर किङ्गसको समान चार अंक भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । पहिलो स्थानमा रहेको काठमाडांै र दोस्रो स्थानमा रहेको सिवाईसी अत्तरिया बीचको खेल हुन बाँकी छ ।
सोमबारको दोस्रो खेलमा सिवाईसी अत्तरिया विराटनगरलाई हराउँदै प्लेअफमा पुगेको छ । विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरीया प्लेअफको पुगेको हो । आफुसँगै महेन्द्रनगर युनाईटेडलाई पनि अत्तरियाले जित हात पार्दै प्लेअफमा पुगाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १४८ रन बनायो ।
फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।
आज भएको पहिलो खेलमा जित हात पारेर रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । साविकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । धनगढी भने जित विहीन भएर तेस्रो संस्करणबाट वाहिरिएको छ ।
बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो ।
रुपन्देहीले दिएको १०७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।