ओली-प्रचण्डबिच गोप्य सहमति : मन्त्री फेरबदल गर्दै सरकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने सहमति भएको स्रोतले बताएको छ ।

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम मन्त्रीहरु फेरफेर गरिन थालेको स्रोतले बताएको हो । आइतबार भैसेपाटीको एक घरमा सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने गृहकार्य अगाडि बढाउने तयारी भएको बताइएको छ ।

सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला नेकपाभित्र भने मन्त्री फेर्ने गृहकार्य अगाडि बढेको स्रोतको दाबी छ ।

सरकारमा नेकपाको तर्फबाट प्रधानमन्त्रीसहित २२ र संघीय समाजवादी फोरम ३ गरी २५ जना मन्त्री रहेका छन् । जसमा प्रधानमन्त्रीसहित २२ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन्।

प्रधानमन्त्री ओलीले केही दिन पहिले मन्त्रीहरुको पनि अनुगमन गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको कामको मूल्याङ्कन गर्नका लागि नम्बर दिने प्रक्रिया अगाडि बढाएको थियो ।

योसँगै मन्त्रीहरुले त्रासको बातावरण सिर्जना भएको टिप्पणी गरेका थिए भने विभागीय काम गर्न पनि प्रधानमन्त्रीले हस्तक्षेप गरेको गुनासो गरेका थिए । कोको मन्त्री हेरफेर हुन्छन् कोको थपिन्छन् भन्ने विषयमा भने अहिले टुंगो लागि नसकेको स्रोतले जानकारी दिएको छ ।