अब नेपालमा फेसबुक तथा अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दर्ता गर्नुपर्ने, नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार थप कडा बन्दै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै उनले सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र समायनुकूल बनाउन खोजिएको जिकिर गरे । डिजिटल नेपाल बनाउने अभियानमा सरकार अगाडि बढेको सन्दर्भमा साइबर सुरक्षाका विषयलाई ध्यानमा राखी ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ ल्याउनुपरेको उनको स्पस्टोक्ति थियो ।

नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाले बताए । ‘फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो गलत हो । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हौं । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनौँ’, उनले भने ।

तर फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न भने सम्बन्धित संस्थाले दर्ता गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ थियो । सामाजिक सञ्जाललाई गलतरुपमा प्रयोग गरिए त्यो घातक हतियार हुने मन्त्री बाँस्कोटाको दावी थियो ।

सामाजिक सञ्जालका विषयमा नेपालमा मात्रै नभई अमेरिका, बेलायत, जर्मनी, भारत, इजिप्ट, क्यानडा जस्ता देशमा समेत चर्चा परिचर्चा शुरु भएको उल्लेख गर्दै उनले सामाजिक सुरक्षामा उत्पन्न गरेका चुनौतीलाई के कसरी सम्बोधन गर्ने भन्नेमा सरकारको चासो रहेको बताए ।

उनले साइबर सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै गलत काम हुन नदिनेतर्फ लाग्नुपर्नेमा जोड दिए । अन्य लोकतान्त्रिक मुलुकमा सामाजिक सञ्जालमाथि कडाइ नभए पनि उनले आफ्नै अभ्यासका आधारमा सूचना प्रविधिसम्बन्धी विषयलाई थप व्यवस्थित र मर्यादित बनाउन खोजिएको उल्लेख गरे ।

त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका थिए ।

सचिव योगीले नै ‘कर्मचारी समायोजना विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १० गते दिउँसो १ बजे बस्नेछ ।