अन्यौलमा नेकपाको सांगठनिक एकीकरण : टाउका मिले पनि मन मिल्न सकेन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको एकता विवाद यतिवेला चुरोमा पुगेको छ । नेकपाको सांगठनिक एकीकरणका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएसँगै एकता प्रक्रिया अझै लम्बिने देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरि बाँकी जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो ।

कार्यदलका संयोजक र वरिष्ठ सदस्यले नै काम गर्न सकिएन भनेर हात उठाएपछि सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग भएको हो ।

नेकपाद्वारा गठित कार्यदलले तीन महिनामा सबै तहको सांगठनिक एकता टुंगो लगाउने घोषणा गरे पनि लामो समयसम्म प्रतिवेदननै तयार गर्न नसकेपछि पार्टी एकता अन्यौलमा परेको हो । तल्ला कमिटी र विभागहरुको एकताको टुंगो नलगाई नेकपा कार्यदल विघटन भएपछि नेकपाबिच एकता नै पो हुने होइनकी भन्ने खतरा पनि बढेको विश्लेषकहरुले बताएका छन् ।

अब पार्टी एकताको प्रस्ताव सचिवालयले तयार पार्ने र स्थायी कमिटीमा पेश गर्ने भनिए पनि कहिलेसम्म टुंगो लगाउने भन्ने कुनै समयसीमा नतोकिएकाले पनि एकता प्रक्रिया लम्बिने प्रस्ट भएको हो । पछिल्लो समय केपी ओली पक्ष कम्जोर बन्दै गइरहेको विश्लेषण भइरहेको समयमा उनले नै एकता प्रक्रियालाई टार्न खोजेको संस्थापन इत्तरका नेताहरुले आरोप लगाउने गरेका छन् ।

बिहीबार कार्यदल सदस्यसहित बसेको सचिवालयको बैठकमा कार्यदल भंग गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अल्पमतमा पर्ने संकेत देखिएकाले उनले एकता प्रक्रिया लम्ब्याउन खोजेको नेकपाकै केही नेताहरुको अरोप छ ।

उल्टो पार्टी एकतासम्बन्धी विवाद समाधान हुनुको साटो फरक प्रतिवेदन नै स्थायी समितिमा जाने भएको छ । यसले एकता झन अनिर्णयको बन्दी बन्ने खतरा बढेको छ ।

गत वर्ष जेठ ३ मा पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी केन्द्रले अहिलेसम्म तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकतालाई टुंग्याउन सकेका छैनन् ।

शुक्रबारको बैठकमा अध्यक्ष ओलीले कार्यदल भंग गर्ने प्रस्ताव दोहोर्‍याएका थिए । त्यसमा अर्का अध्यक्ष प्रचण्ड मौन देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतमका साथै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ कार्यदलको म्याद थप्ने प्रस्तावमा उभिए ।

कार्यदलका सयोजक रामबहादुर थापा बादल र वरिष्ठ सदस्य एवं पार्टी महासचिव विष्णु पौडेलले नै आफूहरुबाट यो समस्या समाधन हुन नसक्ने भनेपछि ओलीको मत बलियो बन्यो र कार्यदल भंग भयो । कार्यदल विघटन भए पनि तत्कालीन बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझाउने भएका छन् ।

रामबहादुर थापा बादल नेतृत्वको कार्यदलमा विष्णु पौडेल, वर्षमान पुन, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल, रघुवीर महासेठ र योगेश भट्टराईलगाएत थिए ।