के समाधान भएको हो त कांग्रेस विवाद ?

काठमाडौं । नेपाली कांग्रेसमा चुनावी परिणामपछि सुरु भएको भाँडभैलो समाधान गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ । कांग्रेसले आइतबार बुहमतीय प्रणालीबाट पार्टीको विधान पारित गरेको छ ।

यसअघि बसेको कांग्रेसको महासमिति बैठकले दिएको सुझावका आधारमा कांग्रेसले विधान पारित गर्ने वचन दिएको थियो । विधानका अन्य कुराहरुमा सर्वसहमति भएपनि केन्द्रीय सदस्यले स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने वा वुथबाट निर्वाचित भएर आएपछि महाधिवेशन प्रतिनिधि हुनुपर्ने भन्‍ने विषयमा विवाद भएको थियो। संस्थापन पक्षका नेताहरुले केन्द्रीय सदस्यहरु स्वत: महाधिवेशन प्रतिनिधि हुने तर्क गर्दै आएका थिए भने संस्थापन इतरका नेताहरुले हरेक महाधिवेशन प्रतिनिधिले वुथबाटै निर्वाचित भएर आउनुपर्ने तर्क गर्दै आएका थिए ।

दुवै पक्षले आफ्नो अडान नछोडेको र लामो समयदेखि विवाद कायम भएकोले सभापति शेरबहादुर देउवाले आइतबार बहुमतीय प्रणालीबाट विधान पारित गराएका हुन् । विधान पारित भएपछि कांग्रेसको भाँडभैलो सुल्झियो कि थप उल्झियो भन्‍ने प्रश्‍न पैदा गरेको छ ।

कांग्रेसमा यस विषयले केही हदसम्म समस्या समाधान भएको नेताहरुले तर्क गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले पार्टीको विधान सम्बन्धि विवाद समाधान भएको छ । लोकतान्त्रि प्रक्रियाबाट नै विधान पारित भएकोले केही फरक मत राख्‍ने साथीहरुका विचार समाविष्ट गर्न संशोधनसमेत गर्न सकिने भएकोले यो सुल्जिएको तर्क गरे ।

त्यस्तै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि विवाद सुल्झिएको तर्क गरेका छन् ।  उनले भने, ‘आफू महाधिवेशन प्रतिनिधि हुन निर्वाचित हुनुपर्ने पक्षमा भएपनि पार्टीका बहुमत साथिहरुले गरेको निर्णयलाई स्वीकार गरेको छु। पार्टीको निर्णयलाई नै सार्वजनिक गर्नु मेरो दायित्व हो ।’ यसमा रहेको प्रावधालाई आगामी बैठकहरुमा थप छलफल र परामर्श गरेर संशोधन गर्न सकिन्छ ।

त्यस्तै सिटौला पक्षका केन्द्रीय सदस्य गगनकुमार थापाले सभापतिले मनोमानी ढंगले विधान पारित गराएको तर्क गरेका छन्। उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा कोही पनि आफूलाई स्वत: राजा बन्न पाउँदैन। जनताको मतबाट चुनिएर, परिक्षण भएर आएको नेताले मात्रै कार्यकर्ता र जनताको हितमा काम गर्न सक्छ। त्यसकारण पार्टी सुधार्ने महत्वपूर्ण घडीमा गरिएको यो निर्णयले विवाद समाधान भएको छैन ।’

नेविसंघको मुद्दा झन सकस

कांग्रेसको नर्सरीको रुपमा लिइएको नेपाल विद्यार्थी संघको विवादले पार्टीलाई थप सकस बनाएको छ। सभापति देउवाले ३२ वर्षे उमेरहद कायम गर्नुपर्ने पक्षमा बोल्दै आएका छन् भने संस्थापन इतरका नेताहरुले ३२ वर्षे उमेरहद लगाउन नहुने पक्षमा तर्क गरेका छन् ।

नेविसंघ अध्यक्ष नैनिसिंह महरले म्याद थप गर्दा समेत विवाद महाधिवेश गराउन नसकेकोले असफल भएको भन्दै पदबाट राजिनामा लगाउन बाध्य पारिएको थियो। उनले राजीनामा दिएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर, समस्या थप सकसपूर्ण बन्दै गएको छ ।

आइतबार पौडेल र सिटौला पक्षका विद्यार्थीहरुले ३२ वर्षे उमेरहद कायम हुनु नपर्ने माग गर्दै पार्टी मुख्यालयमा ढुंगामुढा प्रहार गरेका थिए। ढुंगामुढा प्रहारपछि प्रहरीले लाठीचार्ज गरेको थियो। जसमा केही विद्यार्थी तथा पत्रकारहरु घाइते भएा थिए ।

तदर्थ समिति गठन गरेर आगामी महाधिवेशन गराउने कांग्रेसको निर्णय छ । तर, ३२ वर्षेउमेर हद कायम गरेर तदर्थ समिति बनाउने कि उमेरहद कायम नगरेरे समिति बनाउने विषयमा निर्णय नहुँदा समस्या चुलिएको हो ।

४० वर्षसम्म पनि पदका लागि विद्यार्थी बनिरहने र राजनीति गर्ने थलोको रुपमा प्रयोग गरेर भाँडभैलो मच्चाउने भएकोले अधिकांशको अपेक्षा उमेरहद कायम गर्नुपर्छ भन्‍नेमा छ ।

यसले गर्दा कांग्रेसभित्रको किचलो सुल्झिने बाटोमा भएपनि उल्झिनमा पर्न सक्ने आशंका कायमै छ ।