के यस्तै हो सरकार ! समृद्ध नेपाल, सुखी नेपाली ?

अक्षर टिप्पणी

O आलोक अविनाशी

संघीय र प्रदेशको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न नेपालका दुई ठूला कम्युनिष्ट पार्टीले बाम गठबन्धन मात्रै गरेनन् नेपाली जनताका सामु ‘लोकप्रिय’ नारा नै लगाए–‘सुखी नेपाली समृद्ध नेपाल !’ तर कहिले र कसरी हुने भन्ने कुराको कुनै ठोस आधार भने न त्यतिबेला दिए, न त आज आएर तयार भएको छ ।

निर्वाचनमा दुईतिहाई मत प्राप्त भएपछि बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी पुगेर दिनभर बिताउने क्रममा समृद्धिमाथि कविता लेखे । कविताले चर्चा पायो । ‘मै हुँ’ भन्ने साहित्यकारहरु उनको ‘कविता चर्चा’ले दंग परे । तर नेपालीको समृद्धि र सुखको आधार भने कविताले पनि निर्माण गरेन ।

दुईतिहाईको शक्तिशाली सरकारले पनि हरेक दिन रोजगारीका लागि विदेसिने करिब १७ सय नेपालीको संख्या घटाउन सकेन । गाउँको बाँझो खेत हराभरा हुने लोभलाग्दो योजना सरकारले ल्याउन सकेन । आज पनि मर्दा मलामी र विवाहमा जन्तीको संख्या गाउँघरमा घट्दै गएको छ । यद्यपि प्रधानमन्त्रीले सामाजिक सुरक्षा र रोजगार योजनाको नाममा आत्मरति र स्वप्रचार भने राम्रै गरे । पत्रपत्रिका, संचारमाध्यम र पोलपोलमा प्रधानमन्त्रीको तस्बिर झुण्डियो ।

यथार्थ त के हो भने न देशमा रोजगारको वातावरण बन्यो न शिक्षा आर्जनको । त्यसैको परिणाम आज विदेशिने नागरिकको संख्या उल्लेख्य छ । विदेश जान आतुर नेपाली खुट्टो उचालेर बसेको कुरा विभिन्न तथ्यांकले देखाउँछ । पछिल्लो डेड वर्षमा मात्रै विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नाममा नो अक्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाखभन्दा बढी भएको तथ्यले पनि देशमा शैक्षिक वातावरणको अवस्था कस्तो छ भन्ने देखाउँछ ।
२०७४ साल वैशाखदेखि २०७५ माघ मसान्तसम्म ७७ देशमा पढ्न जाने उद्देश्यले १ लाख १३ हजार युवाले युवाले नो अब्जेक्सन लेटर लिएका छन् । यसले के प्रमाणित गर्छ भने देशमा उच्च शिक्षामा राजनीतिकरण छ । शिक्षालयहरु कमाइखाने केन्द्रका रुपमा विकसित भएका छन् ।

जनताका छोराले पढ्न पाउने वातावरण नभएको भन्दै आवाज उठाउने सत्याग्रही डाक्टर गोविन्द केसीहरु बेवास्तामा पर्छन तर ओली सरकार सुखी नेपाली र समृद्ध नेपालको सपना बाँड्न भने छोड्दैन भन्ने कुरा एनओसी लिने विद्यार्थीको संख्याले प्रमाणित गर्छ ।

सुशासनको अवस्थालाई हेर्दा १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या हुँदा पनि सात महिनादेखि न्याय नपाएको दृष्टान्त निर्मला पन्त बनेकी छन् । ओली सरकारको राज्यमा असुरक्षाको शिकार नेपाली चेली बनिरहेको अर्को ताजा दृष्टान्त धनुषा मिथिला नगरापालिका ४ की ११ वर्षीया दुतियार रसाइली (रेश्मा) बनेकी छिन् । बोल्न नसक्ने उनी २२ वर्षीय नीरज जर्घामगरले बलात्कारपछि जगाएर हत्या गरे ।

भ्रष्टाचार नियन्त्रणको जिम्मा सुम्पिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक आफै भ्रष्टाचारमा मुछिएको दृष्य अहिले नेपाली समाजमा ताजा बहस बनेको छ । सरकारका नियुक्ति विवादको घेरामा पर्ने गरेका छन् ।

मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिस गरिएका समिम अन्सारी संसदीय समितिको छानविनमा परेका छन् । यस्तो परिस्थिति निर्माण भइरहेका बेला दुईतिहाइको सरकारले कहाँनेर समृद्ध नेपाल र सुखी नेपालीको जग निर्माण गरेको छ ? यो प्रश्न जटिल बन्दै गएको छ । तर सरकार र सरकारका मन्त्रीले माक्स कम आए पनि भन्न छोडेका छैनन् ‘शान्ति सुरक्षा मजबुत पारेको छु, काम राम्रो गरेको छु, खै नम्बर कसरी कम आयो ?’