‘गुटतन्त्रले पार्टी कमजोर वन्ने खतरा छ’

काठमाडौं नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन यतिवेला चरम विवादमा छ । नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह मरले पदबाट राजीनामा दिएपछि नेविसंघ झन विवादमा तानिएको छ ।

महरले माघ २८ गते राजीनामा दिएपछि निर्वाचित कार्यसमिति विघटन भयो । त्यसपछि नेविसंघको १२ औं महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने भनेपनि त्यसमा ढिलाई भइरहेको छ ।

सिटौला समूहले ३२ वर्षे उमेर हद कार्यान्वयन गरिनुपर्ने माग बलियो रुपमा उठाउँदै आएको छ भने अर्को समूहले यो निर्वाचन गराउनका लागि मात्र गठन गरिने तदर्थ समिति भएकाले उमेर हद लागुन गर्न नहुने अडान राख्दै आएको छ ।

सोही विवादका कारण आइतवार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा देउवा पक्षीय र सिटौला पक्षीय विद्यार्थीबीच एकआपसमा झडप नै भयो ।

नेविसंघ निर्वाचन मय बनिसकेको अवस्थामा आफूलाई पदबाट राजीनामा दिन लगाएको भन्दै नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महर पनि यतिवेला रुष्ट छन् । विभिन्न जिल्ला र क्याम्पसको अधिवेशन धमाधम भइरहेको अवस्थामा आफूलाई राजीनामा दिन लगाएर नेविसंघलाई निर्णयको बन्दी बनाएको अध्यक्ष महरको आरोप छ ।

‘मैले राजीनामा दिएपछि सबै ठीक हुन्छ भनेर प्रचार गरिएको थियो । नेविसंघभित्र अहिले ताण्डव देखिएको छ’, महरले मिडिया डबलीसँग कुरा गर्दै भने, ‘मेरो राजीनामा पार्टीका लागि अमृत हो भन्ने लागेको थियो, सबै पक्षका नेताहरूलाई । मैले बाटो छोडेपछि पनि उहाँहरूले किन केही गर्न सक्नुभएको छैन ?’

‘नेविसंघको निर्वाचन गर्न चाहदा चाहदै त्यसलाई सफल हुन नदिने तत्वको सक्रियता बढ्यो’, उनले भने, ‘अहिले पनि तिनै तत्व चलखेल गरिरहेका छन्। त्यसमा पार्टी सभापति सचेत हुनुपर्छ । अहिले म धेरै केही भन्दैन । सबै हेरिरहेको छु ।