हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सातै जनाको शव फेला, दुर्घटनाको कारण मौसम खराबी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा सात जनाकै ज्यान गएको छ । ताप्लेजुङको मयम, दारेभिरमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको हो ।

गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित ६ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित मृतक सातै जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा रहेको पनि बताइएको छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् ।

शव ल्याउनका लागि सेनाको एमआई १७ र बेल हेलिकप्टर घटनास्थलतर्फ गएको प्रवक्ता सुवेदीले बताएका छन् । उनका अनुसार दुर्घटना भएको स्थान विकट पहाडको खोँच भएकाले शव हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घन्टा लाग्ने छ ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कँदै थियो । मन्दिरबाट उडेको डेढ किलोमिटर यता दुर्घटना भएको हो।

दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिए ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे सवार थिए ।

तस्बिरः अन्नपूर्णपोस्ट डटकमबाट