रियललाई हराउँदै बार्सिलोना फाइनलमा प्रवेश

एजेन्सी । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल’रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति रियलकै घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा रियललाई ३–० ले पराजित गर्दै बार्सिलोना कोपा डेल’रे फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । दोस्रो लेगमा ३–० ले जित निकाल्दै बार्सिलोना समग्रहमा ४–१ को जित सहित कोपा डेल’रे फुटबलको उपाधि नजिक पुगेको हो ।

पाहुना टोलीलाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरी सकिदा तीन वटै गोल गोस्रो हाफमा सम्भव भएका थिए । खेलको ५० औं मिनेटमा स्वारेजले गाले गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औं मिनेटमा रियलका राफायल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो ।

खेलको ७३ औं मिनेटमा स्वारेजले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । यस जितसँगै बार्सिलोना लगातार चौथो पटक स्पेनिस कोपा डेल’रे फुटबलको उपाधि नजिक पुगेको छ ।