भारत-पाकिस्तान तनाव : इमरान खानद्वारा भारतलाई वार्ताको प्रस्ताव

बिबिसी ।भारतले आफ्ना लडाकू विमान चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ ।

पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ ।

उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई ‘लाजमर्दो प्रदर्शन’ भनि टिप्पणी गरेको छ ।

कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निशाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले ‘पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर नस्ट गरिदिएको’ दाबी गरेको थियो ।

पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो ।

त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य जहाज खसालिदिएको पकिस्तानको दाबी छ ।

टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, “पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन् । म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ ।”

उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन् ।

“यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ ।”

उनले भने, “हामी बसौँ र कुरा गरौं। सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ ।”

प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए ।

उनले भने, “प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन । हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं। बुधवारको जबाफ दियौं र भन्यौँ- तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु ।”

भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ‘जिम्मेवार र संयम’ कदम चाल्ने बताएकी छन् ।

चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, “भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन ।”