लिभरपुलको शीर्ष स्थान कायमै

एजेन्सी । साडियो माने र भिर्गिल भान डिज्कल उत्कृष्ट प्रदर्शनमा लिभरपुलले इङ्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थान कायमै राखेको छ । बुधबार राति भएको खेलमा वाट्फोर्डलाई ५–० को फराकिलो अन्तरले परजित गर्दै लिभरपुलले शीर्ष स्थान कायमै राखेको हो ।

घरेलु मैदानमा लिभरपुलको जितका लागि साडियो माने र भिर्गिल भान डिज्कले दुई तथा डिभोक ओरिगीले एक गोल गरे ।

खेलको नवौं मिनेटमा मानेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । २० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यस्तै खेलको ६६ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुल ३–० ले अघि बड्यो । खेलको ७९ औं र ८२ औं मिनेटमा डिज्कले व्यक्तिगत दुई गोल गर्दै लिभरपुललाई ५–० फराकिलो जित दिलाए ।

जितसँगै लिभरपुलले २८ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थान कायमै राखेको छ ।