प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि भारत लगियो

धनगढी । काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि बिहीबार एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले जनाएका छन् ।
एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।

शिक्षण अस्पतालका चिकित्सक डा पङ्कज पन्त र डा निरज बमलगायतको चिकित्सकको टोली उनको उपचारमा संलग्न थियो । बिरामी भएपछि फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि लगिएकोमा त्यही राति थप उपचारका लागि काठमाडौँ पुर्याइएको थियो ।