अन्तिम श्रद्धाञ्जलिका लागि मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उनीहरुको शव टुँडिखेलमा राखिएको छ ।

श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।

श्रदुर्घटनामा निधन भएका सबैको शव बिहीबार अपराह्न काठमाडौं ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि शुक्रबार बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

राष्ट्रपति/उपराष्ट्रपतिद्वारा श्रद्धाञ्जलि अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाएका छन् ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।