निर्मलाको घर पुगेर देउवाले भने, ‘ढिलो चाँडो अपराधी पत्ता लाग्छ’

कञ्चनपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अपराधी ढिलो चाँडो पत्ता लागेर छोड्ने बताएका छन् । शुक्रबार भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित निर्मलाको घरमा पुगेर सभापति देउवाले निर्मलाका अपराधि कुनै पनि हालतमा उम्किन नसक्ने बताएका हुन् ।

उनले निर्मलाकी आमासँग अपराधि पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन समेत दिए । उनले निर्मलाका हत्यारा पत्ता लगाउन कांग्रेसले सरकारलाई दवाव दिइरहेको बताउँदै बलात्कार र हत्या जस्तो अपराधमा संलग्नले कुनै हालतमा उन्मुक्ति नपाउने बताए ।

उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन समेत परिवारलाई आग्रह गरेका छन् । सभापति देउवाले यति लामो समयसम्म पनि अपराधि पत्ता लाग्न नसक्नु चिन्ताको विषय भएका बताउँदै सरकारलाई गम्भिर रुपमा अनुसन्धान गर्न आग्रह गरे ।