अभिनन्दन वर्तमान: स्वदेश फर्किए लगत्तै भारतमा खुसीयाली

बिबिसी/पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानले अन्तत: मुक्त भएर स्वदेश फर्किए लगत्तै सबैभन्दा पहिले ‘फर्कन पाउँदा निकै खुसी छु’ भने।

सीमाको भारततर्फ भारतीय झण्डा र उनको तस्बिर बोकेर घण्टौँ कुरेको मानिसहरूले उनलाई राष्ट्र नायक भन्दै स्वागत गरेको थियो।

दुवै देशका पञ्जाब प्रान्त जोडिने वागा बोर्डरमा भारतीय अधिकारीले अभिनन्दनलाई स्वागत गरिरहँदा राजधानी दिल्लीमा आतसबाजी गरिएको थियो।

उनको घरफिर्तीलाई ट्वीटरमार्फत् स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अनुकरणीय साहस प्रदर्शन गरेकोमा देश निकै गौरवान्वित रहेको’ बताएका थिए।

शुक्रवार राति नै १२ बजे दिल्ली पुर्‍याइएका उनलाई सेनाको प्रचलन अनुसार पहिलो काम चिकित्सकीय परीक्षण गरिएको थियो।

त्यसपछि राति नै उनले सेनालाई आफ्नो अनुभव सुनाए।

परिवारसँग उनको भेट सप्ताहन्तमा हुनेछ।

बुधवार पाकिस्तानमा समातिएपछि उनको रिहाइको विषय भारतीय नेता र सर्वसाधारणको केन्द्रमा सबैभन्दा बढी प्राथमिकतामा परेको थियो।

सामाजिक सञ्जालहरूमा उनी ‘राष्ट्र नायक’का रूपमा छाए।

उनको पक्राउ र रिहाइले दुवै देशलाई शान्तिपूर्ण अवतरणको लागि बाटो खोलिदिएको ठानिएको छ।

दुवै तर्फबाट चर्का आक्रोश र धम्कीयुक्त अभिव्यक्ति आइरहेका बेला कम्तीमा उनको प्रसंगले त्यसलाई एकाएक संवाद र शान्तिको चर्चातर्फ मोडिदिएको थियो।

शान्तिका लागि प्रयास

१४ फेब्रुअरीमा ४० भन्दा बढी भारतीय अर्धसैनिकको ज्यान जानेगरी भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमणसँगै भारत र पाकिस्तानबीच पछिल्लो तनाव चुलिएको थियो।

त्यसले परमाणु शक्ति सम्पन्न दुई देशलाई हवाई हमलाको अवस्थासम्म धकेल्दा विश्वको ध्यान खिचेको थियो।

पाकिस्तानी प्रधानमन्त्रीले उनको रिहाइलाई ‘शान्तिको सङ्केत’ भनेका थिए। र दुई देशलाई जोड्ने एक मात्र आधिकारिक सीमानाका वागा-अटारीमार्फत् अभिनन्दन स्वदेश पठाइए।

पूर्वभारतीय कूटनीतिज्ञ एवं रणनीतिक मामिलाका जानकार केसी सिंहका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले यसपटक ‘असमझदारीहरु सुल्झाउने आत्मसम्मानले भरिएको सहजिकरण र ईच्छाशक्तिमय परिदृश्य’ देखाएका छन्।

सबैलाई चकित पार्ने अभिनन्दन फिर्ताको एउटा सन्देश त्यो पनि हो।

उता पाकिस्तान टिभीमा प्रसारित एक सम्पादन गरिएको भिडि‌ओमा अभिनन्दनले आफू कसरी विमानबाट खसेँ, र कसरी पाकिस्तानी सेनाले आफूलाई आक्रोसित भिडबाट बचायो भनेर बताएका छन्।

भिडिओमा उनले भनेका छन्, पाकिस्तानी सेनाले मेरो राम्रो ख्याल गरे, उनीहरू निकै व्यावसायिक रहेछन्।

शङ्का

आफ्नो भूमिबाट आतंकवादीले पाइरहेको प्रश्रय निमिट्यान्न पार्न पाकिस्तान बलियोसँग प्रतिबद्ध भइदियोस् भन्ने भारत चाहन्छ।

पाकिस्तानी विदेशमन्त्रीले त्यसमा आफूले काम गर्ने बताएका छन्। उनले अमेरिकी टेलिभिजन सीएनएनसँगको एक अन्तर्वार्तामा युद्धतर्फ जानु दुवै देशका लागि ‘आपसी आत्महत्या’ हुने बताएका थिए।

तर भारतले चाहिँ विगतमा बोल्ने काम मात्र भएको भन्दै शङ्का यथावत् रहेको बताएको छ।

कतिपयले यस प्रकरणलाई लिएर नरेन्द्र मोदी वा इमरान खान कसले जित्यो भन्ने सवाल समेत उठाएका छन्।

तर भारत सहभागी भएकै कारण पाकिस्तानले शुक्रवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशनको ४६औँ सत्र बहिष्कार गरेको छ। सत्रमा सो संस्थामा संलग्न देशका विदेशमन्त्रीहरू सहभागी छन्।

जहाँ विशेष अतिथिको रूपमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले मन्तव्य दिएकी थिइन्।

भारतीय सीमा शहर अमृतसरमा रहेकी बीबीसीकी दक्षिण एसिया संवाददाता रजिनी विद्यानाथन भन्छिन्, “यस रिहाइले दुई आणविक शक्तिबीचको तनावलाई केही मत्थर पारेको छ तर वास्तविक मुद्दाहरू भने ज्यूँकात्यूँ छन्।”