प्रशन्नालाई अवार्ड

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका प्रशन्ना पाण्डे बोष्टर मिडिया अवार्ड– २०७५ प्रदान गरिएको छ । बोस्टर मिडियाले शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा प्राश्नासहित ४१ विधामा उत्कृष्ट कलाकारलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा प्रशन्नालाई ‘फूलमा देख्छु’ बोलको गीतबाट आधुनिक पप गायनतर्फ उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको हो । पूर्व अर्थमन्त्री एवं वरिष्ठ साहित्यकार शंकरप्रसाद कोईरालाले प्रशन्नालाई उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरेका हुन् ।

३ वर्ष अघि राम सिटौलाको संगीतमा ‘तिमी र म’ नामक सोलो एल्बममा रहेको ५ वटा गीत गाएर नेपाली साँगीतिक क्षेत्रमा प्रबेश गरेकी प्रशन्ना त्यही एल्बमको ‘गाजलु आँखा’ बोलको गीतबाट स्थापित बनेकी थिइन् । देशका विभिन्न स्थान तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा समेत सहभागी हुँदै आएकी प्रशन्ना आफै मोडलिङ समेत गर्दै आएकी छन् ।