वर्षेनी घट्दै जडीबुटीको उत्पादन

इलाम । जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् ।

जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताउँछन् ।

कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गरेका सुवेदी अहिले किबी खेतीमा लागेकको बताउँछन् ।
“मैले तीन वर्ष अघि मात्र २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसकोे मूल्य घटेर अहिले प्रतिमन चारदेखि पाँच हजार मात्र मूल्य छ”, उच्च पहाडी संस्था नेपालका प्राविधिक युवराज पौडेलका अनुसार किसानले पछिल्लो समय जडीबुटी खेती घटाएर लौठ सल्लालगायत वनस्पतिको खेती गर्न थालेका छन् ।

जिल्लाका माइपोखरी, पुवामझुवा, सुलुबुङ, बरबोटे, साँखेजुङमा बढी जडीबुटी उत्पादन हुने गरे पनि तिनको मूल्यमा गिरावट आएपछि किसानले जडीबुटी खेती नै छाड्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ ।