चेपाङ्ग जातिको सामाजिक, सांस्कृतिक अध्ययन

लेखक – खिम लामिछाने काजि

चेपाङ्गलाई प्रजा जाति पनि भनिन्छ । तत्कालीन राजा वीरेन्द्रले २०३४ सालमा मकवानपुरको मनहरि जाँदा “यिनीहरू को हुन” भनेर सोधनी हुँदा प्रजा हौं भनेपछि पहिचान प्रजा भएको भनाइ छ । त्यसपछि त्यसै वर्षदेखि ’प्रजा विकास कार्यक्रम’ लागु भएको पाहिन्छ । चेपाङ्ग संघको मागअनुसार प्रजा विकास कार्यक्रमलाई २०६२ सालदेखि चेपाङ्ग विकास कार्यक्रम भनेर नामकरण गरियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनीहरूले आफ्नो जातीय पहिचान ’चेपाङ्ग’ नै कायम गरे । चेपाङ्गहरूको जीवन वनजङ्गल र जमिनसँग अति नजिकसँग जोडिएको छ ।

यिनीहरु मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छ । जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो । खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन । सानै उमेरमा बिहे गर्ने, परिवार नियोजन बारे ज्ञान नहुनाले बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ । अत्यन्त गरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ । आर्थिक, सामाजिक, शैक्षकि हरेक हिसाबले निकै पछाडि रहेको सूचीकृत आदिवासीमध्ये चेपाङ अति सिमान्तकृत समुदायमा पर्छ । जनगणना ०६८ अनुसार नेपालमा ६८ हजार ९६० चेपाङ जातिको जनसंख्या रहेको पाहिन्छ । यिनीहरूको बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ । घरहरू सामान्यतया एकतले ढुङ्गा, माटोले बनेको र खरले छाएको पाइन्छ । कतिपय चेपाङ्गहरूको घर भने काठ तथा सेउलाले बेरेर बनाइएको पनि पाइन्छ । चेपाङ्गहरू अन्य समुदायसँग कम घुलमेल हुने र लज्जालु स्वभाबका हुन्छन । शारीरिक रूपमा होचा तर मांशपेसीदार हुन्छन । उनीहरूको पुख्र्यौली पेशा खोरिया खानेर खेती गर्नु तथा शिकार नै हो ।

चेपाङ्गहरूको पहिचान आफ्नो संस्कार, भेषभूषा, भाषा, संस्कृति एवम् परम्परागत सीपको आधारमा बनेको छ । त्यस्तैगरी चेपाङहरूलाई जङ्गली कन्दमुल (लाक), भ्याकुर (भार्लाङ)अनि गिठ्ठा सिस्नो, लहराहरूको मुन्टा आदि परिकारमा बाध्यतावश जीवन धान्नको लागि जङ्गली जनावरको शिकार गर्दछन् । चेपाङहरूको मुख्य बसोबास क्षेत्रमा च्यूरीको रूख पाइन्छ । यसले उनीहरूको पहिचान बोकेको पाइन्छ । गणेशमान गुरुङ (१९८९) का अनुसार “चे“ भनेको कुकुर र “पाङ्ग“ को अर्थ ‘धनुकाँड’ भन्ने हुन्छ । तसर्थ, जङ्गली शिकार तथा खानेकुरा बटुलबाटुल पार्न जाँदा कुकुर प्रयोग गर्ने समुदाय नै चेपाङ्ग हुन । चेपाङ्गहरूको आफ्नै मातृभाषा छ । यिनीहरूको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजिल्दो छ । परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै भाषा (लैको) भाषा प्रयोग गरिन्थ्यो । नयाँ पुस्ताले नबोल्ने र नबुझ्ने हुँदा आफ्नै भाषा लोप हुने देखेर १ कक्षाको लागि भनेर चेपाङ्ग समुदायले बोल्ने ठेट भाषाको पुस्तक पनि प्रकाशित गरिएको छ ।

चेपाङ्गहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो । जस अनुरूप चेपाङ्गहरूले सिमेभुमे देखि रूखलाई सम्म पूजा गर्छन । खेतीबाली लगाउन भन्दा अगावै भुइँ झ्यासा (भूमि पूजा) गर्छन । यो पूजा प्रायः माघ र फागुनमा गर्ने गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन । निबुवा, बिमिरो, पिडाँलु, घैंया धान आदि चाहिँ छोनाम गरी पितृलाई चढाएर मात्र खान्छन । भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङ्गहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो । उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन । चेपाङ्गहरू लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा पनि धनी छन । तर यसको प्रयोग र प्रचलन अहिले आएर धेरै कम भएको छ । लगभग यो भाषाको गीत र लोक साहित्य लोप हुने अवस्थामा छ । चेपाङ्गहरूको परम्परागत भेषभूषामा महिलाको लागि गुन्यू–चोलो र पुरूषको लागि दौरा–कछाड र त्यसमा जाली भिरिएको स्टकोट हुन्छ । साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पेटो भिरिएको हुन्छ ।

चेपाङ्गहरूको परम्परागत गरगहनाको रूपमा मुगा, हारेमाला आदि छन । हाल चेपाङ्ग समुदायका मानिसहरूको पहिरनमा मिसावट आएको देखिन्छ । पुरूषहरू प्रायःजसो सर्ट, कट्टु, पाइन्ट, टोपी आदि लगाउँछन । महिलाहरू लुंगी, ब्लाउज र मजेत्रो ओढ्छन । कतिपय महिला र बालबालिकाहरू कुर्ता सुरुवाल र पाइन्ट, टी–सर्ट पनि लगाउँछ । सामुदायिक वन अवधारणाले वन संरक्षणमा मद्दत पुगे पनि चेपाङ्ग समुदाय भने परम्पराबाट विमुख हुनुपरेको एक चेपाङ बताउँछन । सामुदायिक वन र कबुलियत वनले खोरिया ओगटेपछि हामी चेपाङ्गहरू विस्थापित हुनुपरेको छ । चेपाङ राप्ती नदी उत्तर, रिउ खोला वरपर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा घना बसोबास छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै रहेका छन । चितवन र धादिङको सिमानामा रहेको कान्द्राङगढी र चितवनको उपप्रधाङगढी चेपाङ्ग वंशको ऐतिहासिक थलो रहेको ’चेपाङ्ग जातिको चिनारी’ (२०६७) पुस्तकमा उल्लेख छ । चेपाङ्गहरूको मूलथलो यिनै दुई गढीको वरिपरि खास गरेर दामनदेखि पश्चिम त्रिशूलीसम्मका पर्वतको उत्तर र दक्षिण पाटो भिरालो पाखा, जंगल र नदीतिर प्रायःजसो फैलिएर बसेको क्षेत्र नै हो ।

चेपाङ्ग बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवन जिल्लामा २८ हजार ९ सय ८९ रहेका छन् । शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या निकै कम छ । परम्परागत रूपमा हिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जाति पछिल्लो समय क्रिश्चियन धर्ममा पनि आकर्षित हुँदै गएको पाइन्छ । आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई उनीहरु सास्कृतिक धरोहर र पहिचान बचाइ राख्न सरकारी स्तरबाटै ठोस कदम चालिनु पर्ने देखिन्छ । चेपाङ्ग बालबालिकालाई स्कूल भर्ना गराउन निकै कठिन हुन्छ । अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय जान सकिरहेका छैनन । कतिपय खोलामा पुल नहुँदा बर्षाको समय स्कुल नै बन्द हुने गरेको कुरा रिउ खोलाका स्थानिय चेपाङ्ग बताउछन । साथै खोला बढेर ठुलो हुँदा विद्यार्थी तथा शिक्षक नै स्कुल पुग्न नसक्ने यथार्थ अयोध्यापुरी आधारभुत बिद्यालयका शिक्षक अमृत गायकले बताए । जङ्गल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ । चितवन माडी कुसुम खोला रिउ खोला वरीपरी बसोबास गर्ने चेपाङ्गहरु त्यहाबाट नजिकैको भारतको रामपुरमा गएर मजदुरी काम गर्ने गर्दछन । पैसासँग भारतीय सस्कार र सस्कृतीको भित्राउने गरेकाछ । पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङ्गहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा नभएको यर्थात एक चेपाङ्ग अगुवाले बताए ।

चेपाङ्ग समुदायमा नयाँ घर बनाउन घडेरीको माटो सुब्बे र फाब्बे अर्थात हुने र नहुने हेर्ने काम पान्दे (चेपाङ्ग पुरोहित) ले गर्छन । उनै पान्देले घरको मूलखम्बा कुलदेवता पुज्ने गर्छन । जन्मदेखि न्वारन, पास्नी, छेवर, विवाहदेखि मृत्यु सम्मको कार्यमा उनै पान्देको भूमिका रहन्छ । चेपाङ्गको लिखित वंशावली नभए पनि ७० भन्दा बढी थर र उपथरहरू रहेको पाहिन्छ । ती थरहरू भूमिबाट उत्पत्ति भएको आधार, बसाइँ सराइ, व्यवसाय, वैवाहिक सम्बन्ध, कामकाजको आधारमा बनेका छन । चेपाङ्ग जातिको साक्षरता दर ३६ प्रतिशतमात्र रहेको पाहिन्छ । अहिले पढ्ने युवाहरूको संख्या बदढै गएको छ । चेपाङ्ग बस्तीहरुमा बिभिन्न संघ सस्था तथा एनजीओ, आइएनजीओहरुले सामाजिक, शैक्षीक तथा बिभिन्न बिषयमा जनचेतना अभीबृद्धी गर्ने कार्यक्रमहरु लिएर जाने गरेको हुँदा उनीहरुको रहनसहन र सास्कृतिक परीबेशमा समेत परिवर्तन आएको पाहिन्छ । अन्य मनिसहरुसँग घुलमिल र संपर्क बढ्दै जादा उनीहरुको स्थानिय भाषा सस्कृतीमा दिनदिनै परिवर्तन आएको पाहिन्छ ।