सानो इसारामा लहरिएको खुसी

O अक्षर फिचर

बाटोमा उभिएर अलमलिरहेको बटुवालाई औंलाको इसारा पनि काफी भइदिन्छ, गन्तव्यमा पुग्नलाई । त्यही इसारा पच्छ्याएर उसले जीवनको यात्रा तय गर्न सक्छ । जीवनको बोझिलो भारी कता डोर्याउने भन्ने असमन्जस एकै इसाराले सहज बनिदिनसक्छ ।

मान्छेको जीवनमा शरीर मात्रै स्वस्थताको मापन होइन । मानसिक पीडा र उल्झन पनि सहज जीवनको वाधक हो । खोटाङको चिप्लिङबाट १२ वर्षअघि बसाई सरेर बराहक्षेत्र नगरपालिका ९ राजबास आइपुगेकी सनिता राई पनि यस्तै अलमलमा थिइन् एक वर्षदेखि । कारण थियो उनका श्रीमानको स्वर्गबास ।

‘तीन छोरी, एक छोरा म एक्लीको जिम्मा छोडेर जानु भो’, श्रीमानको सम्झना मिश्रित स्वरमा सनिता बोलिन्, ‘के लाउने, के खाने भन्ने अवस्थामा श्रीमान नै नरहेपछि मन त आत्तिने नै भयो ।’ श्रीमान स्वर्गे भएको पीडासँगै उनको काँधमा छोराछोरीको लालनपालन र शिक्षादिक्षा पनि आइलागेको थियो ।

एक्ली महिला भए पनि उनले सप्तकोशीमा दाउरा टिपेर गुजारा चलाउने उपाए अपनाइन् । श्रीमान हुँदादेखि नै उनले यो पेशामा सघाउँदै आएकी थिइन् । अब उनी उर्लँदो सप्तकोशीको भेलमा आफै पांैठेजोरी खेल्न थालिन । ‘यस वर्ष सानो ट्रकको चार ट्रक टिपेछु बाबु’, पंक्तिकारसँग उनले भनिन्, ‘१८ हजारमा तीन ट्रक बेचेँ, एक ट्रक जति आफूलाई राखेँ ।’

श्रीमानको सम्झना र छोराछोरीको जिम्मेवारीले उनको मन थिचिएर भारी थियो । बराहक्षेत्र ९ का वडा अध्यक्ष दीपककुमार लिम्बुको अध्यक्षतामा रहेको वडा विपद तथा जलवायु उत्थानशील समितिले उनलाई अति विपन्नको रुपमा छनौट गर्यो । वडा नम्बर ९ मा सनितासँगै ७ जना छानिए । वडा नम्बर १० बाट १० जना परे । सबैको दैनिकी कोशीको दाउरा टिप्नमै बित्थ्यो ।

अति विपन्न सनिता, अनिता राई, मनमाया सुन्दास, सुविस्ता विक, सुनरवती उराउहरूलाई स्वरोजगार बनाउने अभियानमा नेपाल रेडक्रस सोसाइटी लाग्यो । उनीहरूलाई स्वास्थ्य सरसफाइसँगै बंगुरपालन, बाख्रापालन र साना व्यापार तालिम दियो । प्रकासपुरमा पुगेर लिएको तालिमपछि १७ जना सीपमुलक व्यवसायमा लागेको रेडक्रसकर्मी सम्भुनारायण चौधरीले बताए ।

सनितासँगै अनिता, मनमायाहरू यतिबेला चिटिक्क परेको खोरमा बंगुर पालेर बसेका छन् । सनिताले बंगुरको आधुनिक खोरको अघिल्तिर आँखै पर्ने गरी पुरानो जुत्ता झुण्ड्याएकी छिन् । भन्छन्, ‘कसैको नराम्रो नजर नलागोस भनेर जुत्ता झुण्ड्याएकी हुँ ।’

अनिता, मनमाया, सविस्ताहरूको पनि शैली उस्तै छ । सनिताले सन्तुष्टिको उपाए सुनाइन्, ‘अरूले दिएकोले कहिल्यै पुग्दैन, जत्ति दिए पनि कमै लाग्छ, तर गरिखाने बाटो देखाइदिनु ठूलो कुरा हो ।’ उनलाई रेडक्रसले दिएको तालिम, खोर र बंगुर किन्न दिएको ३० हजार पैसा लाखजस्तै भएको छ । उनका लागि आगामी यात्राको इसाराजस्तै बनेको छ ।

सुभासको आँटिलो यात्रा

केही समय अघिसम्म गुजारामूलक खेतीपातीमै थिए सुभास परियार । बराहक्षेत्र १० सुनसरीका सुभास यतिबेला आफैले सिलाएको स्टाकोट लगाएर दंग छन् । नेपाल रेडक्रसले समुदायमा आधारित विपद जोखिम न्यूनीकरण कोशी बेसिन कार्यक्रम अन्तर्गत सुभाससँगै चार जनालाई पाँच महिने सिलाइकटाई तालिममा सहभागी गराइदियो ।

तीन महिना नपुग्दै सुभास आफैले स्टाकोट बनाएर लगाउने हैसियत बनाए । यतिबेला उनी गाउँघरमा पाइन्ट, सर्ट, स्कुलका कोट सिलाएर आयआर्जन गर्नसक्ने भएको रेडक्रसकी सामाजिक परिचालक कल्पना राउत बताउँछिन् । सुभासजस्तै विमला आचार्य पनि गाउँघरका लुगाफाटा सिउने भइसकेकी छिन् । आचार्य १७ वर्षकी भए पनि उनले घरमा भाइबहिनीको अभिभावकत्व पनि गर्नुपर्छ । ‘सिलाइकटाई सिकेर सीप मात्रै बढेको छैन, आफै केही गर्न सकिन्छ भन्ने मनोबल पनि बढेको छ’, उनले भनिन् ।

सिलाइकटाईका लागि आएका चारैजना उत्सुक, मेहनती र केही गर्न सकिने उर्जा लिएर आएको पाइएको प्रशिक्षक स्मिता पोख्रेलले बताइन् । उनीहरूले तीन महिना पुग्दा नपुग्दै गाउँघर र विद्यालयको लुगा सिउन थालेको पोख्रेलले जानकारी दिइन् । विपद् र जोखिममा परेका अति विपन्नलाई स्वरोजगार बनाउन रेडक्रसले तालिम संचालन गरेको प्रकाशपुर उपशाखाका सभापति नविन कुमार घिमिरेले बताए ।