सिके राउतसँगको सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात हुनसक्छः भीम रावल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।

रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सहमतिपत्रमा ती अभिव्यक्ति ‘फिर्ता लिएँ’ भन्ने शब्द कतै उल्लेख नभएकाले घोर आपत्ति जनाएका हुन् ।

‘पहिलो कुरा त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आएका छन्, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन, यो ठूलो घोका हुनसक्छ’, उनले भने ।

सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्द राखिएको उल्लेख गर्दै नेता रावलले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।

नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरेको भन्दै उनले सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने जिकिर गरे । पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्र सच्याउनुपर्ने माग रावलको छ ।

‘देशलाई शान्तिको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउन विभिन्न सङ्घ÷सङ्गठनसँग सहमति गर्नुपर्छ, तर त्यस्ता सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसले राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रमा नसकारात्मक प्रभाव पर्नु हुँदैन’, उनले भने, ‘राउतसँगको सहमति संयसयपूर्ण छ ।’