इथियोपिया विमान दुर्घटना, विमानमा सवार १५७ जनाकै मृत्यु, विमानमा ३२ देशका नागरिक

अदिस अबाबा\एएफपी । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबैको मृत्यु भएको जनाएको हो । इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको थियो । उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ । यसैबीच इथियोपियाको प्रधानमन्त्रीको कार्यालयले विमानमा परी मृत्यु भएका यात्रुका आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

विमानमा ३२ देशका नागरिक

दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेको ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ । विमानमा नेपाली नागरिक भएको भने जनाइएको छैन ।

विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको अदिस अबाबाबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना थिए । बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेको कम्पनीले जनाएको छ । चार जनाको राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ ।

(विमान दुर्घटना भएको स्थल । तस्बिरः बिबिसीबाट)