आमा ! म छाउघर जानै पर्न्या हो ?

वीरेन्द्रनगर ।  पहिलोपटक महिनावारी भएकी रिनाले छाउगोठ बस्न मानिनन्। तर, जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुँदै भनिन् ,“आमा ! म छाउघर जानै पर्न्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुँदैन।’’

पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शकदीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे। छाउगोठमै रिना बलात्कार भएपछि उनी र उमेशबीचको प्रेमकथाले वियोगान्तको रुप लिएपछि दर्शकका आँखा रसाए। उक्त संवाद सुर्खेतमा आयोजित रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको ‘छाउ’ नाटकको हो। सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा रहेको कुप्रथाको दर्दनाक अवस्थालाई नाटकमा उतारिएको हो।

नाटकको शुरुवात मुुख्य पात्र भनिएका उमेश र रिनाको प्रेम कहानीबाट सुरु हुन्छ। उनीहरु एक अर्कालाई औधी मन पराउँथे। उमेश पढ्न भनी सदरमुकाम गएको हुन्छ। कलेज बिदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे गाउँभरी हल्ला फैलन्छ। दुबैका परिवारले उमेश र रिनाको विवाह गर्ने निधो पनि गर्छन्। विवाहको तयारी भइरहेको हुन्छ। यस्तैमा विवाहको केही दिन अगाडि रिना महिनावारी भएपछि नाटकको शृङ्खला अन्तै मोडिन्छ।

नाटक मध्यभागमा पुगेपछि छोरीको बिहेको कुरा छिनेका बुबा र आमा रिना महिनावारी हुँदा भएको घटनाले निराश हुँदै विवाह नहुनेमा चिन्तित हुन्छन्। छाउगोठबाट फर्केपछि भने रिनाले बिहे गर्ने निर्णय एकाएक परिवर्तन गर्छे। उनको निर्णयका कारण दुबै परिवार अचम्ममा पर्दछन्। रिनाका बुबाले छोरीले निर्णय र समाजमा लाज भएको सोची आत्माहत्या गर्ने अवस्थासम्म पुग्छन्। उता, उमेशकी बहिनी जमुनी पनि महिनावारी हुन्छे र उसलाई छाउगोठ जान नदिनका लागि रिनाको विद्रोह सुरु हुन्छ। ‘‘म जस्ता यो समाजका धेरै रीनाले छाउगोठमै दुःख पाएका छन्, यहाँबाट उनीहरुलाई निकाल्नुछ’’ उनको यो विद्रोहको आवाजपछि दर्शकको ताली बज्छ।

कथाको अन्त्यमा रिनाले जमुनीसँग आफू छाउगोठ बस्दा बलात्कृत भएको घटना सुनाउँछे। यो कुरा उमेशले सुनेर रिनाले विवाह गर्दिन भन्नाको कारण थाहा पाउँछ र रिनासँगै विवाह गर्न स्वीकार गर्छ। र, दुबैको विवाह भएपछि नाटक टुङ्गिन्छ।

‘छाउ’ नाटकका लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको समृद्धिको सपना देशमा जरा गाडेर बसेको यस्ता कुप्रथा अन्त्य नभएसम्म हुन नसक्ने भन्दै समाजलाई चेतना दिने उद्देश्यले नाटक रचिएको बताए। त्यस्तै नाटकमा रिनाको भूमिकामा अभिनय गरेकी सगुन पोख्रेलले आफू सुदूरपश्चिमा जन्मिएको र छाउप्रथाले आफूलाई पनि छोएकाले यो भूमिका निर्वाह गरेको बताउँछिन्। नाटकमा मञ्चन गरिएझैं सुर्खेतमा आठ महिनाअघि एक १६ वर्षीया किशोरीको बलात्कार भएको थियो। छाउगोठकै कारण कतिपय किशोरीहरुले ज्यानसमेत गुमाइसकेका छन्।

करिब १२ वर्षअघि छाउगोठ बसेकी सुर्खेतस्थित बाबियाचौरकी पार्वती नेपालीको सर्पले डसेर मृत्यु भएको थियो। उनको मृत्युको करिब ६ वर्षपछि घाटगाउँमा अर्की पार्वती नेपालीको त्यसैगरी अकालमा ज्यान गयो। यस्ता कति घटनाहरु त अझै चर्चामा आएका छैनन्। यो प्रथा निर्मूल पार्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयास भएपनि अझै सार्थक परिणाम निस्कन सकेको छैन।

अधिकारकर्मी धना जिसी गैरसरकारी सङ्घसंस्थाले जति अभियान चलाएपनि मान्छेको मानसिकता परिवर्तन नहुँदासम्म यसको अन्त्य असम्भव हुने बताउछिन्। पश्चिम सुर्खेतका विभिन्न गाउँमासमेत अभियानका क्रममा छाउगोठ भत्काउने क्रम जोडतोडका साथ चल्यो । तर, गैरसरकारी संस्थाहरुले आफ्नो अभियान छोडेर फर्केलगत्तै पुनः धमाधम छाउगोठ ठडिएका छन्।अभियानको नाममा गोष्ठी, अन्तरक्रिया गरेर प्रतिवेदन पेस गरी बजेट सक्ने काम भएको स्थानीयवासीको आरोप छ। छाउ भएका बेला घरभित्र पस्दा देउता लाग्ने, अशुभ हुनेजस्ता अन्धविश्वासले छाउप्रथालाई प्रश्रय दिने गरेको पाइन्छ।

नेपालको संविधानको धारा ३८ मा ‘‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन’’ भनिएपनि महिलाले छाउपडीकै कारण विभेद र शारीरिक तथा मानसिक पीडाका साथै ज्यानसमेत गुमाइरहेका छन। रासस