सिंहदरबारको गेटबाटै १६ अधिकारकर्मीमाथि धरपकड

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले १६ जना मानव अधिकारकर्मीलाई सिंहदरबार अगाडिबाटै पक्राउ गरेको छ । एक मानवअधिकारवादी संस्थाले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले अधिकारकर्मीलाई पक्राउ गरेको हो ।

युद्धरत पक्षलाईजस्तै घेराबन्दी गरेर चर्चित अधिकारकर्मी कृष्ण पहाडीसहित १६ जना अधिकारकर्मीलाई गिरफ्तार गरिएको हो । सरकारले २०७५ फागुन २४ गते सि के राउतसँग गरेको ११ बुँदे अपराधजन्य सहमति र सत्ताद्वारा सार्वभौमसत्तामाथि गरिएको खेलवाडको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराललगायत १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले ११ बुँदे नौटंकी अपराधजन्य सहमति, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।