उपमहागरको ‘प्रोफाइल’ सार्वजनिक

घोराही । घोराही उपमहानगरको वस्तुस्थिति समेटिएको नगर प्रोफाइल बिहीबार सार्वजनिक गरिएको छ । नगर प्रोफाइलको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले योजना छनोटमा नगर प्रोफाइलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले विकासलाई के, कसरी, कुन ठाउँमा गर्ने भन्ने बारेमा पनि वस्तुस्थितिको विवरणले प्रस्ट हुने बताए ।

मुख्यमन्त्री पोखरेलले पछिल्लो समय दाङमा प्रशस्त सम्भावना भए पनि सिँचाइ र पिउने पानीको समस्या देखिएको भन्दै सानासाना टुक्रे योजनाभन्दा ठूला आयोजनाका बाटोतर्फ ध्यान दिनुपर्ने बताए । घोराहीका जनतालाई प्रशस्त पानी खुवाउन कटुवाखोलाको बाँध निर्माणको विषयमा अध्ययन गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेले आफ्नो क्षेत्रको विकासका लागि जनता र त्यहाँको जनप्रतिनिधिको उल्लेखनीय सहभागिता हुनुपर्ने बताए ।
उपमहानगरका प्रमुख नरुलाल चौधरीले वस्तुस्थिति दश खण्डमा बाँडिएर तयार पारिएको र उपमहानगरको परिवर्तित वस्तुस्थितिलाई समेटर बनाइएको जानकारी दिए ।

प्रोफाइल निर्माणका लागि करीब एक वर्ष लागेको बताइएको छ । दुई सय ८८ पृष्ठको पुस्तकमा जनसङ्ख्या, घरपरिवारको अवस्था, परिवारको पेशागत विवरण, घर निर्माण प्रक्रिया, नगरवासीको आर्थिक अवस्था, आम्दानीको स्रोत, रोजगारीको स्थिति, उद्योग–व्यवसाय, कृषिको अवस्थालाई समेटिएको छ ।