धनगढीमा मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद जारी

धनगढी । मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न खेल धनगढीमा जारी छन् । धनगढीका विभिन्न खेल मैदानमा खेल भइरहेका हुन् । तीन दिनदेखि फुटबल र क्रिकेटका खेल भइरहेकोमा व्याटमिन्टन र भलिबलका खेल पनि दुई दिनदेखि जारी छन् । सवै खेलहरुका लिग चरणका खेल सकिएका छन् ।

महिला क्रिकेटमा सुदूरपश्चिम र प्रदेश १ उपाधिका लागि भिड्ने
संघीय प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र प्रदेश नम्बर १ भिड्ने भएका छन् । सुदूरपश्चिम प्रदेश समुह ए को र प्रदेश १ समुह बी को विजेता बन्दै उपाधिका लागि भिड्न लागेका हुन् । समुह ए बाट उपविजेता बनेको प्रदेश नम्बर ३ र समहु बी को उपविजेता बनेको प्रदेश ५ तेस्रो स्थानका लागि खेल्नेछन् ।

लिग अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश नम्बर कर्णाली प्रदेशलाई प्रदेश ३ ले १८६ रनले हरायो । पहिले व्याटिङ गर्दै प्रदेश ३ ले २० ओभरमा २ विकेट क्षतिमा २४९ रन बनायो ।

आज भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई १०० रनले हराएर फाइनलमा स्थान सुरक्षित गर्यो । पहिले व्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा २ विकेट क्षतिमा १७६ रन बनायो । फाइनल र तेस्रो स्थानको खेल भोली संघीय प्रहरी ईकाईको कार्यालयको खेल मैदानमा हुनेछ ।

पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश भिड्ने
पुरुष क्रिकेटको उपाधिका लागि प्रदेश २ र गण्डकी प्रदेश खेल्ने भएका छन् । समुह ए को विजेता बन्दै प्रदेश २ र समुह बी को विजेता बन्दै गण्डकी प्रदेश फाईनल पुगेका हुन् । समुह एबाट प्रष्ट जितका साथ प्रदेश २ फाईनल पुग्दा समुहको उपविजेता सुदूरपश्चिम प्रदेश भएको छ । समुह बी मा समान अंक हुँदा रन रेटका आधारमा पहिले हुँदै गण्डकी फाइनल पुगेको हो ।

रनरेटमा पछि परेर उपविजेता बनेको प्रदेश १ ले अब तेस्रो स्थानका लागि सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
फाप्ला मैदानमा आज भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ५ रनले हराएको छ । पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ६ विकेट क्षतिमा १०७ रन बनायो ।

आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गर्दै सुपले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो ।