भ्रष्टाचारी हेर्न ओलीले ऐनामा हेरे हुन्छः नेता लेखक

बैतडी । नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । नेता लेखकले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीले आफ्नै अनुहार ऐनामा हेरे पुग्ने बताए । उनले केन्द्रदेखि गाउँसम्म भ्रष्टाचार व्याप्त भएको बताए ।

नेपाली कांग्रेस बैतडीले सुर्नया गाउँपालिकामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेता लेखकले नेपाली काँग्रेसलाई चुनवा हारेको भन्दा काँग्रेसले ल्याएको शान्ति, संविधान र राष्ट्रिय अखण्डता जिवन्त नरहने हो कि भन्ने चिन्ता भएको बताए ।

जिल्ला सभापति नरेन्द्रसिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षकका रुपमा उपस्थित प्रमुख अतिथि लेखकले काँग्रेसले पराजित मानसिकता छोडेर उच्च मनोबलका साथ पार्टीभित्र बृहत एकतासहित जनतालाई आस्वास्त पार्नुपर्ने बताए । उनले उच्च मनोबलका साथ आम जनतामा जान पनि कार्यकर्तालाई निर्देशन दिए ।

नेता लेखकले कम्युनिस्टहरू संसदीय व्यवस्थामा विश्वास नगर्ने शक्ति भएको ठोकुवा गर्दै भने, ‘अधिनायकवादी चरित्र नै कम्युनिस्ट चरित्र हो ।’ प्रशिक्षण कार्यक्रममा पूर्व राज्यमन्त्री नरबहादुर चन्द, स्थानीय नेता शिवराज भट्ट, केशव बहादुर चन्द, चतुरबहादुर चन्दलगायतको उपस्थिति थियो ।