इडाई समुद्री आँधी : मोजाम्बिकमा मात्र हजारभन्दा बढीको मृत्यु

बिबिसी । इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्‍याएको छ।

बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहित आएको आँधीले क्षति पुर्‍याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतवारबाट मात्र त्यहाँ पुग्न थालेका हुन्।

बिस्तारै क्षतिको विवरण बाहिर आउन थालेको छ।

सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भएको छ।

बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन्।

उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए।

त्यसअघि नै इन्टर्न्याश्नल फेडरेशन अफ रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई ‘ठूलो र भयानक’ बताएका थिए।

झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत ध्वस्त भएको देखिएको छ।

विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताए।

उद्धारकर्ताहरूले सहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन्। धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ।

सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएको छ जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ।