सरकार प्रेस र नागरिकप्रति बेसरोकार भयो : गगन थापा

पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारको कडा आलोचना गरेका छन् । उनले वर्तमान सरकार प्रेस र जनतालाई प्रश्न गर्न नदिएर कठोर बन्दै गएको टिप्पणी गरेका छन् ।

वर्तमान सरकार जनता र प्रेससँग निडर बन्दै जानुले सरकारको अधिनायकवादी चरित्र भएको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन पाल्पाको पदस्थापना कार्यक्रम तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा विचार राख्दै थापाले सरकारले जुनसुकै निर्णय गर्दा पनि निडर भइदिनुले लोकतन्त्रको सुन्दरता नै नासिने खतरा बढेको पनि उल्लेख गरे ।

‘सरकार प्रश्न गर्नेहरु माथि जाई लाग्न भन्छ तर प्रश्नसँग डराएन भने, जनताले के भन्लान भन्ने विषयमा सरकार बेसरोकार भइदियो भने यो गम्भीर र डरलाग्दो विषय बन्छ,’ उनले भने, ‘कसले के भन्छ भन्ने विषयमा सरोकार रहेन भने त्यहाँ केही गलत छ भन्ने बुझ्नुपर्छ । ।’

प्रतिपक्षले उठाएका विषयमा मतलब गरिएन भने गलत प्रवृत्ति हावी हुँदै जाने उनले जिकिर गरे । ‘सरकारको कदम सही हुन पनि सक्छ,’ थापाले भने, ‘सरकारले मलाई मतलब छैन तिमीहरु बोल्दै जाउँ विकासविरोधी बोल्दै जान्छन् केही पनि फरक पर्दैन भन्नु गलत हो।’ सुशासनका लागि सरकार जनता र प्रेससँग डराउनपर्ने सुझाव दिए।