समानताका लागि रेडक्रसको आह्वान

लैङ्गिक समानता अझै वास्तविकताभन्दा टाढा छ, एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको छ

काठमाडौं । लैङ्गिक मात्रै नभएर सबैखाले समानताका लागि सोच, व्यवहार र योजनाका लागि रेडक्रसले आह्वान गरेको छ । फागुपूर्णिमाको अवसरमा होली शुभकामना दिँदै #BlanceforBetter विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ तथा नेपाल रेडक्रस सोसाइटीले अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियान आयोजना गरेको हो।

‘लैङ्गिक, उमेर, भौगोलिक, स्वास्थ्य अवस्थाजस्ता क्षेत्रमा भएका असन्तुलित अवस्थाको अन्त्यका लागि सोचमा परिवर्तन जरुरी छ,’ रेडक्रसको केन्द्रीय कार्यालय कालिमाटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री देवरत्न धाख्वाले भने, ‘यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको समानताको सन्देश हाम्रा लागि वर्षभरी नै उपयुक्त छ ।’

लैङ्गिक समानता अझै पनि वास्तविकताभन्दा टाढा रहेको तथ्यांक प्रस्तुत गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किमले एशिया प्रशान्त क्षेत्रमा लैङ्गिक असमानताले जरो गाडेको विचार राखिन् । उनले संकटमा महिला नै बढी पर्ने अवस्था पाइएको बताइन् । भनिन्, ‘आफैले पनि लैँगिक समानताको लागि थप कार्य गर्न नेतृत्वको समूहले मनिला घोषणा जारी गरेको छ । विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला छन् । त्यसमा ५० देखि ५९ वर्षसमूहको बाहुल्यता छ । ३० वर्षभन्दा मुनिका युवाको संख्या न्यून रहेको छ । तर, अर्कोतर्फ रेडक्रसको लाभान्वित सूचीमा महिलाको संख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको अवस्था छ ।’

कार्यक्रममा सन् २०१९ मा नीति, योजना निर्माण र सहयोग क्षेत्रमा फरक तरिकाले काम गर्न नेपालमा कार्यरत रेडक्रस अभियानका अंगहरुका प्रतिनिधिले विविधताको प्रवर्धन र लैङ्गिक समानताको लागि चित्र, सामुहिक र व्यक्तिगत फोटोमार्फत सन्देश दिए । सामुहिक फोटोमा महिलाको प्रगतिमा उत्सव मनाउने, कुरिती अन्त गर्ने प्रतिवद्धता देखाइएको छ ।

कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गरे । उनले भने, ‘शुरक्षित र समावेशी बातावरणमा मात्र छलफल र पैरवीहरु प्रभावकारी हुने भएकाले विभिन्न सामाजिक सञ्जालमा ह्यासट्याग #BlanceforBetter राखी सन्तुलित अवस्थाको पक्षमा सन्देश दिन होलीको अवसरमा रेडक्रस सवैलाई आव्हान गर्दछ ।’