भुइँमा राखेर बिरामीको उपचार

जाजरकोट । जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिए ।

झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताए । एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले जानकारी दिए ।

अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो ।

विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो ।