भारतलाई पराजित गर्दै नेपाललाई इतिहास रच्ने मौका

विराटनगर । विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज (शुत्रबार)आयोजक टोली नेपाल र साविकको विजेता टोली भारत भिड्दैछन् । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुदैछ ।

शहिद रंगशालामा नेपाल मैदान उत्रिमा नेपालको लक्ष्य साफको उपाधि उचाल्दै इतिहास रच्नु रहने छ । दक्षिण एसियाको सबै भन्दा बलियो टोली भारतलाई पराजित गर्नु नै नेपालको अर्को सफलता हो ।

किनभने पछिल्ला १० खेलमा नेपालमाथि भारतको दबदबा छ । नेपालले भारतसँगका पछिल्ला १० खेल मध्य ७ खेलमा पराजित भएको छ । दुई खेल बराबरी खेल्दा एक खेलमा मात्र विजयी भएको छ ।

यसै बर्ष भारतमा आयोजना भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको थियो । यसअधि नेपालले कुनै पनि खेलमा पराजित गर्न सकेको थिएन् ।

त्यसैले पनि आज नेपाललाई आफु भारतमाथि दबाब सृजना गर्दै आफु उत्कृष्ट छु भन्ने देखाउने अवसरका साथै पहिलो पटक साफको उपाधि जित्दै इतिहास रच्ने अवसर पनि छ ।

यसै प्रतियोगिताको सुरुवाती तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो भने चौथो संस्करणको सेमिफाइनलमा भारतसँगै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । तर, भारतसँगको पछिल्लो प्रदर्शनले नेपालको मनोबल उच्च रहेको छ । साथसाथै नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको पूर्ण साथ रहने छ ।