विश्व कविता दिवशमा प्रज्ञाको कवि गोष्ठी

काठमाडौं ।

विष्टको आँगनको ओसिलो कुनामा अचट्दै
बाको हातेकल नजिकै बसेर
मालिकको पाइजामा तुर्पाइ गर्दागर्दै
कतिबेला पोखिएको मेरो तनमा
समयले तरुनी रङ पत्तै भएन
र त
मेरा बाले सिएका सुकिला लुगा लगाउनेहरुले नै
मसलाको रुखजस्तै
एकै चोटि नाङ्गो बनाए मलाई

-विन्दु शर्मा

विश्व कविता दिवसको उपलक्ष्यमा आयोजित कविता गोष्ठीमा सीमा सुरक्षा गर्न आह्वान, जातीय विभेदको विरोध, बाल मनस्थिति, स्खलन हुँदै गरेको चरित्र, काठमाडौं सहरका विकराल समस्या लगायतका विषयवस्तु समेटेर गद्य तथा पद्य कविता, मुक्तक र एक लाइन कविता वाचन गरिएको थियो ।

सो अवसरमा पाकिस्तानी कवि प्रियानी तथा नेपाली कविहरु विश्वविमोहन श्रेष्ठ, रमेश पौडेल, डम्बर पहाडी, श्याम रिमाल, बलराम दाहाल, लक्ष्मी उप्रेती, नवीन प्यासी, जयन्ता पोख्रेल, कौशिला रिसाल, भीष्म उप्रेती, शान्ति शर्मा, जयन्ती सत्याल, देवकी अभिलाषीलगायत तीस कविले आफ्ना कविता वाचन गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको नियमित कार्यक्रमअन्तर्गत कविता गोष्ठीको आयोजना गरेर पुराना कवि र नयाँ कविलाई साक्षात्कारको अवसर जुराउनु महत्वपूर्ण कुरा भएको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कवि बैरागी काइँलाले बताए ।

सन् १९९९ मा फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको तीसौँं महासन्धिले मार्च सात तारिखलाई विश्व कविता दिवसको रुपमा घोषणा गरेको थियो । प्रतिष्ठानका सदस्य सचिव डा जगतप्रसाद उपाध्यायले यसले सुन्ने र सुनाउने प्रथाको विकास गरेको बताए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले सबै पुस्ताका र सबै समुदायका कविलाई समेट्ने प्रयत्न गरेको दावी गरे । कार्यक्रममा ३० कविले राष्ट्रिय अखण्डता, सीमा सुरक्षा, जातीय विभेदलगायत विषयलाई समेटेर पृथक विषयवस्तुका कविता वाचन गरेका थिए ।