कोटेश्वर–जडीबुटीमा बेलिब्रिज

काठमाडौं । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।

उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेको हो । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य अघि बढिरहेको छ ।

राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे तापनि केही मात्रामा स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गर्ने कार्य गरिरहेका छन् । सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन् ।

सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाइने बताइएको हो ।