राष्ट्रिय नाचघरमा मुखरित भए उत्कृष्ठ मुक्तक

काठमाडौं । दियालो साहित्य सरगमको बिशेष प्रस्तुतीमा ‘वाह ! यस्तो पो मुक्तक’ कार्यक्रम सम्पन्न भएको छ । सांस्कृतिक संस्थानको सहकार्यमा भएको कार्यक्रम राष्ट्रिय नाचघरको प्रेक्षालयमा शुक्रबार सम्पन्न भएको हो ।

दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति साहित्यकार डा. बिष्णुबिभु घिमिरे थिए । तीन घन्टा चलेको कार्यक्रममा झण्डै २०० जति साहित्यकार, साहित्यानुरागी तथा दर्शक स्रोताको सहभागिता थियो ।

कार्यक्रममा रुकमकी सिर्जना शर्मा, नेपालगञ्जकी शान्ति अधिकारी पोखरेल, रौतहटका हरिकृष्ण कफ्ले, सिन्धुलीकी रेशमा राना, काठमाण्डौका प्रकाश बस्नेत गफाडी, चित्तवन उदास कार्की र मकवानपुरका बिर्खे अञ्जानले मुक्तक वाचन गरे ।

हरेक सर्जकले प्रत्येकपटक पाँच पाँचवटा मुक्तक गरी तीन चरणमा १५ वटा रचना प्रस्तुत गरेका थिए । सबैका रचना र वाचन शैलीबारे प्रशंसा भएको थियो ।

प्रमुख अतिथि घिमिरेले सबै स्रष्टाकार प्रस्तुतिहरु समयसापेक्ष र महत्वपूर्ण रहेको बताए । उनले दियालो साहित्य सरगमले साहित्यिक दियालो बालेर देशमा उज्यालो छरिरहेकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा प्रस्तुत भएका रचनामा राजनीति, भ्रष्टाचार र समाजका बिकृतिप्रति आक्रोश, असन्तुष्टी र चिन्ता ब्यक्त गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रा.डा. भिम खतिवडाले देशप्रेम, राजनीतिक पेच, सामाजिक बिसंगतिप्रति आएको रचनात्मक अभिव्यक्तिले देशका समस्या समाधान भएका रहेनछन् भन्ने कुरा ब्यक्त गरेको बताए । कार्यक्रममा डा. हेमनाथ पौडेल, ज्ञानुवाकर पौडेल,रामकाजी कोने, डा मेमनाथ पौडेल र यज्ञराज उपाध्ययलगायतको उपस्थिति थियो ।

दियालो साहित्य सरगमकी अध्यक्ष तथा कार्यक्रमकी सभापति शान्ति शर्माले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा सम्मान तथा कदरपत्र वितरण गरिएको थियो । कार्यक्रमको मिडिया सहयोगीका रुपमा अक्षरपाटी डटकम, जनता टेलिभिजन, नयाँ खबर, नेपाल टेलिभिजन लगायत थिए ।