उपकुलपति डा.जगमानले भनेः ब्राह्मणले फिरिङ्गीको जस्तो टाइ र पाइन्ट लगाएर होइन आचरणमा बस्नुपर्छ

नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना हुने

काठमाडौं । योग र आयुर्वेदलाई प्रवद्र्धनलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी शनिबार राजधानीमा सम्पन्न भएको छ ।

भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा मङ्गलबारदेखि कार्यक्रम शुरु भएको थियो । सङ्गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी संस्कृतका विद्वानको सहभागिता थियो ।

संस्कृतको संवद्र्धनका लागि दुवै देशका सरकारसँग अनुरोध गर्ने निष्कर्ष पनि कार्यक्रमले निकालेको छ । प्रत्येक वर्ष पालैपालो सम्मेलन आयोजना गरी संस्कृतमा भएगरेका कामको विश्लेषण गरिने जनाइएको छ ।

दुवै देशमा संस्कृतमा प्रकाशन भएका पुस्तक आदानप्रदान गर्ने, प्राध्यापक एवं विद्यार्थीको आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान एवं गोष्ठी, दुवै देशका विद्वान् राखी संयुक्त कार्यदलको गठन लगायत काम गरिने जनाइएको छ । ज्योतिष, व्याकरणलगायत संस्कृतका शास्त्रीय विषयको प्रवद्र्धनमा सहकार्य गर्ने अवधारणा पनि सङ्गोष्ठीले अघि सारेको छ ।

कार्यक्रम समापन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले संस्कृतको उन्नयनका लागि ब्राह्मणले फिरिङ्गीको जस्तो टाइ र पाइन्ट होइन रहनसहन लगायत आचरणमा बस्नुपर्ने बताए ।

‘ब्राह्मण निष्ठामा भएमात्र तिनको अधीनमा मन्त्र हुन्छ, यसैले ब्राह्मण आचरणमा बस्नुपर्छ, अनिमात्र संस्कृतको उन्नयन हुनसक्छ’, उनले भने । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा वेणीमाधव ढकालले भारत वर्षमा नेपाली वा हिन्दी माध्यममा संस्कृतको अध्यापन गरिँदा स्नातकोत्तर गरेका विद्यार्थीलाई पनि संस्कृतमै बोल्ने अभ्यास नहुने गरेकाले माध्यम परिवर्तन गरिनुपर्ने बताए ।

कार्यक्रममा भारतको सम्पूर्णानन्द संस्कृत विश्विद्यालयका पूर्वकुलपति प्रा डा अविराज राजेन्द्र मिश्र, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेल, ज्ञानपीठ पुरस्कारबाट सम्मानित व्यक्तित्व डा सत्यव्रत शास्त्री, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा डा काशीनाथ न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेशप्रसाद घिमिरे, विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रा डा केदारनाथ शर्मा लगायतले भारतवर्षमा संस्कृतको उन्नयनका लागि कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । तीनदिने कार्यक्रममा सञ्चालन भएका १३ सत्रमा ५० कार्यपत्र प्रस्तुत भएका थिए । कार्यपत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिने छ ।