तत्काल दुखाइ कम गर्ने पेनकिलर दीर्घकालमा घातक

काठमाडौं । नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् ।

पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा कमै सर्वसाधारण जानकार छन्, चिकित्सक भने जानकार भएर पनि नजरअन्दाज गरिरहेका छन् । अन्जानमै लामो समय पेनकिलर प्रयोग गर्दा कैयौँको मिर्गौला, मुटुलगायत भित्री अंग ड्यामेज भएका छन् ।

‘मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या हुँदा पेनकिलर झन् हानिकारक हुन्छ,’ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘मुख सुक्यो, पिसाब घट्यो भन्दै आउने बिरामीले पेनकिलर प्रयोग गरेको पाइयो । यसले मिर्गौला, मुटुलगायत भित्री अंग खतम गरिदिन्छ ।’

उच्च रक्तचाप र घुँडाको दुखाइ कम गर्न स्थानीय स्वास्थ्यकर्मीको सिफारिसमा पाँच वर्षदेखि पेनकिलर सेवन गर्दै आएका सुनसरीका सुदेश लम्साल अहिले डाक्टरले साइडइफेक्टबारे बताएपछि तनावमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।