कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध भेला गर्दै जिल्ला सभापति

काठमाडौं । केन्द्रीय सदस्य सीधै महाधिवेशन प्रतिनिधि बन्ने पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध कांग्रेसका जिल्ला सभापतिहरूले भेला बोलाएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति बैठक समापन समारोहमा गरेको प्रतिबद्धता २१ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि असन्तुष्ट सभापतिहरूले २० र २१ चैतमा काठमाडौंमा भेला डाकेका हुन् ।

२९ मंसिरदेखि ८ पुससम्म चलेको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिले केन्द्रीय नेताहरू पनि महाधिवेशन प्रतिनिधिका लागि बुथबाटै चुनिएर आउनुपर्ने आवाज उठाएका थिए । उनीहरूले समानुपातिक चुनाव प्रणालीमा आरक्षणको सुविधा पनि एकपटक मात्रै लिन पाउने व्यवस्था विधानमा राख्न माग गरेका थिए । जिल्ला सभापतिहरूको माग सम्बोधन गर्दै महासमिति समापन कार्यक्रममा सभापति देउवा र नेता पौडेलले केन्द्रीय समिति बैठकबाट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘केन्द्रीय समितिको बहुमतले आफूभन्दा माथिल्लो निकाय महासमिति बैठकमा सभापति र नेताले जनाएको प्रतिबद्धता उल्ट्याउने काम गर्‍यो,’ नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘त्यसविरुद्ध चरणबद्ध दबाब दिन रणनीति तय गर्न सभापति भेला आयोजना गर्ने निर्णय गरेका हौँ ।’ काठमाडौंमा उपलब्ध सभापतिहरूको बैठकले भेला डाक्ने निर्णय गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।